नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूूल्यमा प्रति लिटर १० रुपैयाँका दरले वृद्धि गरेको हो । आयल निगमको सञ्चालक समितिको बैठकले शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।स्थानीय तहको निर्वाचन लगत्तै निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ ।मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । मूल्य समायोजन पश्चात पनि पाक्षिक ४ अर्ब २५ करोड रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।