नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिए पनि समर्थन कायमै राख्ने जनाएको छ । रास्वपाको आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
रवि लामिछानेलाई पुनः गृहमन्त्रालयको जिम्मेवारी नदिइएपछि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यसैबीच, आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन कायम रहने जानकारी दिएका छन् ।
उनले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी लिएको स्वीकार गरेका छन् । यद्यपि, राहदानीको दुरुपयोग नगरेको उनले दाबी गरे । उनले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरू बनाएको पनि बताए ।
त्यस्तै, लामिछानेले पूर्वगृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने पनि बताएका छन् । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाउने तयारी गरेका छन् ।