Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
खेलकुदको माध्यमबाट लैङ्गिक भेदभाव अन्त्य गर्न नेपाल स्थित अस्ट्रेलियाली राजदूतको आव्हान
नेपालआईज
११ मंसिर २०७८ २३:०६
काठमाडौं ।
खेलकुद प्रेमी र लैंगिक समानताका अगुवा नेपाली पत्रकारहरु र नेपाल अष्ट्रेलिया अल्मुनाई संघका सदस्यहरुले सुन्तला रंगको जर्सी लगाएर महिला-पुरुष मिश्रित मैत्रिपूर्ण फुटबल खेलमा सहभागी भएर महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंशा अन्त्य गर्न आफ्नो प्रतिबद्दता व्यक्त गरेका छन्। उक्त अवसरमा दर्शकहरुले हिंसामुक्त उज्वल भविष्यको सूचक सुन्तला रंगकै पहिरण लगाएका थिए।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको लैंगिक हिंसाविरुद्दको १६ दिने अभियानको उपलक्ष्यमा लैंगिक हिंसा विरुद्ध सामुहिक आवाज उठाउन यो फुटबल खेल आयोजना गरिएको थियो। यो अभियानको यस बर्षको मुल नारा “विश्वलाईसुन्तला रंगमा रंगाउँ: महिला बिरुद्द हुने हिंशा अहिल्यै अन्त्य गरौं” भन्ने रहेको छ।
फुटबल खेलको सुरुवात गर्दै अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्कले भन्नुभयो, “आमरुपमा महिला र बालिकाहरु लैंगिक हिंसाको जोखिमा हुन्छन्। समलिंगी, उभयलिंगी, ट्रान्स, इन्टरसेक्सका रुपमा आफुलाई चिनाउँदा, अपांगता हुँदा, जनजाति र जातिय अल्पसंख्यक समुदायको हुँदा, आप्रवासि र शरणार्थी हुँदा र प्राकृतिक र मानविय संकटको अवस्थामा रहँदा महिलाहरुलाई लैंगिक हिंसाको जोखिम अझ बढ्ने गर्दछ । ‘’
“हामी आशा गर्दछौं यो महिला-पुरुष मिश्रीत खेलले लैंगिक हिंसा अन्त्य गर्न, लैंगिक समानताकालागि वकालत गर्न र महिलाहरुको सशक्तिकरण गर्ने कार्यमा पुरुषहरुलाई प्रोत्साहन गर्नेछ।“ राजदुत भोल्कले पत्रकारहरु, सहभागीहरु र दर्शकहरुलाई खेलकुदमा महिलालाई प्रवर्धन गर्न र समाजमा जरा गाडेर रहेको लैंगिक अवधारणाहरुलाई परिवर्तन गर्न र खेलकुदको माध्यमबाट लैंगिक भेदभाव अन्त्य गर्न आवहान गर्नुभयो।
उक्त अवसरमा महिलाविरुद्ध सबै स्वरुपका विभेद हटाउने सम्बन्धी सिड महासन्धि (सिड) संयुक्त राष्ट्रसंघीय समिति सदस्य बन्दना राणाले भन्नुभयो, “फुटबल खेलले युवा, पुरुष र बालकहरु लगाएत थुप्रै दर्शकहरुलाई प्रभावित गर्न सक्दछ। यो महिला-पुरुष मिश्रीत मैत्रिपूर्ण खेलले महिला र बालिकाहरु प्रति हुन भेदभावहरुको अन्त्य गर्ने समान उद्देश्य प्राप्त गर्न र सबैको अधिकार सुरक्षित हुने र कोहि पनि पछाडी नपर्ने समाज निर्माणमा सहयोग गर्नेछ।“
अखिल नेपाल फुटबल संघको सातडोवाटो स्थित खेल मैदानमा खेलिएको उक्त खेल आन्फा, नेपाल खेलकुद पत्रकारमंच, नेपाल अष्ट्रेलिया अल्मुनाई संघ र अष्ट्रेलियाली दुतावास नेपालको सहकार्यमा साथी संस्थाले आयोजना गरेको हो ।