नेपालमा अस्ट्रेलियाको १२ अर्ब १६ करोड ३४ लाख  लगानी 

नेपालमा अस्ट्रेलियाको १२ अर्ब १६ करोड ३४ लाख  लगानी 
नेपालआईज
२९ भदौ २०७९ १२:१८

काठमाडौँ – नेपालमा विश्वका विभिन्न ५५ देशको दुई खर्ब रुपैयाँ भन्दा बढी वैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैङ्कको सर्वेक्षणले देखाएको छ । केन्द्रीय बैङ्कले मङ्गलवार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदन अनुसार विभिन्न ५५ देशको २ खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको पाइएको हो । नेपालमा अस्ट्रेलियाको मात्रै  १२ अर्ब १६ करोड ३४ लाख रुपैयाँ लगानी रहेको देखिएको छ । अस्ट्रेलियाले विभिन्न परियोजना मार्फत उक्त रकम नेपालमा लागनी गरेको हो । 

सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको हो । कुल वैदेशिक लगानी मध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५  प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको केन्द्रीय बैङ्कको विवरणमा उल्लेख छ ।

प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले केन्द्रीय बैङ्कको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आव २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनी मध्ये कुल १९७ वटा कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारिएको केन्द्रीय बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कको रिपोर्ट अनुसार गत वर्ष ६०४ वटा कम्पनी दर्ता भएकोमा १९७ वटा विदेशी लगानीको रहेको छ । २०७८ असार मसान्त सम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । त्यसमा भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्यान्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

त्यसै गरी दक्षिण कोरियाको ९ अर्ब ३४ करोड ९५ लाख रुपैयाँ, यूएईको ८ अर्ब ३५ करोड ५ लाख रुपैयाँ, अमेरिकाको ६ अर्ब ७० करोड ९७ लाख रुपैयाँ, बंगलादेशको ६ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ र अन्य देशको २९ अर्ब ६९ करोड ८५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानी मध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानी मध्ये २६.९ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको छ । नेपालमा पछिल्लो समय बिजुली, ग्यास, स्टीम, वातावरणीय क्षेत्रमध्ये जलविद्युत क्षेत्रमा सबैभन्दा बढी लगानी हुने गरेको अध्ययनले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर