Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियामा बस्ने नेपालीद्वारा रुपन्देहीका बौद्धिक अपाङ्ता भएकालाई सहयोग
नेपालआईज
८ माघ २०७९ ६:४३
नेपाल । रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सैनामैनामा रहेका बौद्धिक अपाङ्गता भएकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । रुपन्देहीको सैनामैनास्थित बौद्धिक अपाङ्ता सेवा केन्द्रमा आश्रित २३ बौद्धिक अपाङ्ता भएका विद्यार्थी तथा बालबालिकालाई सञ्जालले शैक्षिक सामग्री प्रदान गरेको हो ।
सञ्जालले उनीहरूलाई न्यानो कपडा, विद्यालय पोशाक, जुत्ता, कलम कपि, झोलालगायत सामग्री प्रदान गरेको छ । त्यसक्रममा सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले आश्रित बालबालिकालाई थेरै भए पनि राहत र प्रोत्साहन मिलोस् भनेर सहयोग गरिएको बताउनुभयो ।
अष्ट्रेलियामा रहेका नेपाली, विद्यार्थी, युवा तथा व्यवसायीबाट संकलन हुने रकमबाट रुपन्देहीमा विभिन्न सामाजिक कार्य गर्दै आएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष शिवलाल पौडेलले सेवारूपी भावनाले गरिएको सहयोगले केन्द्रमा आश्रित बालबालिकालाई प्रोत्साहन मिलेको बताउनुभयो । उहाँले निरन्तर सहयोगको अपेक्षासमेत गर्नुभयो । कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले सञ्जाल सामाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रम गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो ।
उहाँले सञ्जालसँगको सहकार्यमा सामाजिक विकासका कामहरू गर्न इच्छुक रहेको पनि बताउनुभयो । केन्द्रका सञ्चालक सदस्य नरेन्द्र पोखरेलको स्वागतमा भएको कार्यक्रममा रेडक्रम सोसाइटीका कृष्णप्रसाद पंगेनी, सञ्जालका सल्लाहकार कमल भण्डारी, सुशीला पन्थी, ईश्वरी भण्डारीलगायतले सञ्जालले उदाहरणीय कार्य गरेको भन्दै सहयोग र सहकार्यमा निरन्तरता आवश्यक रहेको बताएका थिए ।
रुपन्देही घर भई हाल अष्ट्रेलियामा रहेका नेपालीहरूको साझा संस्था रुपन्देही सामाजिक सञ्जालले यसअघि पनि असहाय अपाङ्ताका साथै गरिब तथा विपन्नलाई सहयोग गरेको थियो ।
कोरोना महामारी, विनाशकारी भूकम्पबाट पीडित भएका सहयोग, अपाङ्ता भएकाहरू बस्ने आश्रममा शैचालय निर्माण, मैनादेवी आश्रममा आर्थिक सहयोग, अस्पताल एवं स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री प्रदान, खानेपानी ट्यांकी निर्माण, ट्राफिक सचेतना कार्यक्रमलगायतका कार्य यो सञ्जालले गरिसकेको छ ।