Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
राष्ट्रपति पदका लागि पाैडेल र नेम्वाङद्वारा उम्मेदवारी
नेपालआईज
१३ फागुन २०७९ ९:३७
नेपाल । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका रामचन्द्र पाैडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् । शनिबार संसद भवन नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा उनीहरूले मनोनयन दर्ता गराएका हुन् ।
पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र अब्दुल खान रहेका छन् । त्यस्तै समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे छन् । एक दिन अघि मात्र फेरिएको सत्ता गठबन्नधनले पाैडेललाई राष्ट्रपतिमा समर्थन गरेकाे छ ।
जसमा नेकपा माओवादी केन्द्र, जसपा, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।
त्यस्तै, नेकपा एमालेका तर्फबाट नेम्वाङले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन् ।
समर्थकमा योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
राष्ट्रपतिमा उम्मेदवार बनेका पाैडेल र नेम्वाङ दुबै पूर्वसभामुख हुन् ।