नेपाल । शुक्रबार उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । उपराष्ट्रपतिका लागि तीन उम्मेदवार मैदानमा छन् । जसमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झा गरेर दुई उम्मेदवार छन् ।
सत्ता गठबन्धनबाटै यादव र झाको उम्मेदवारी परेपछि समस्या सुल्झाउन निरन्तर बैठक बसिरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले यादवलाई समर्थन जनाइसकेका छन् । यता, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले झालाई समर्थन जनाउनुपर्ने अडान राखेका छन् ।
त्यस्तै, विपक्षी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छिन् । निर्वाचन आयोगले संसद भवन परिसरमा हुने मतदानका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ । उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद र प्रदेश सभाका सांसदहरू मतदाता रहने व्यवस्था छ । यद्यपि संघीय र प्रदेश सभाका सांसदको मतभार भने फरक-फरक रहेको छ ।
संघीय संसदका एक सांसदको मत ७९ मतभारमा गणना हुन्छ भने प्रदेशका सांसदको मतभार ४८ गणना हुन्छ । संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३० जनाले मात्रै मतदान गर्न पाउने छन् । भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङले मतदान गर्न पाउनुहुने छैन ।
त्यसैगरी तनहुँ –१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल गत फागुन २५ मा राष्ट्रपतिमा विजयी भएपछि सांसद पद रिक्त भएको छ । नागरिकता प्रकरणमा चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि उक्त क्षेत्र पनि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो ।
त्यसैगरी सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् । आयोगका अनुसार मतदानका लागि संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ ।