नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घट्यो

नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घट्यो
नेपालआईज
२ भदौ २०८० १५:३०

नेपाल । नेपालको वैदेशिक व्यापार १६ प्रतिशतले घटेको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत वर्ष आयात १६ प्रतिशत र निर्यात २१ प्रतिशतले घट्दा समग्र वैदेशिक व्यापार १६ प्रतिशतले घटेको हो ।

गत वर्ष राष्ट्र बैंकले एलसी अनिवार्य गर्ने र भारतसँगको व्यापार बैंकिङ प्रणालीबाट हुनुपर्ने नीति लिनुको साथै सरकारले १० वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेपछि व्यापार घाटा कम भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको साउनदेखि असार अन्त्यमा १६ खर्ब ११ अर्ब ७३ करोड बराबरको सामान आयात भएको छ । सोही अवधिमा अघिल्लो आर्थिक वर्षमा भने १९ खर्ब २० अर्ब ४४ करोड बराबरको सामान आयात भएको भन्सार विभागको तथ्यांक छ ।

गत वर्ष विदेशी मुद्राको सञ्चितीमा संकुचन आएपछि सरकारले १० विलासी वस्तुमा आयात नियन्त्रणको घोषणा गरेको थियो । गत आर्थिक वर्षको साउनदेखि असार अन्त्यमा नेपालले १ खर्ब ५७ अर्ब बराबरको बस्तु निर्यात गरेको थियो । अघिल्लो आर्थिक वर्षमा भने नेपालले २ खर्ब बराबरको निर्यात गरेको थियो ।

जसअनुसार निर्यातमा २१ प्रतिशतले कमी आएको छ । छिमेकी मुलुक भारतबाट मात्र १० खर्ब २७ अर्ब बराबरको बस्तु आयात गर्दा निर्यात भने १ खर्ब बराबरको मात्र भएको छ । यता राष्ट्र बैंकको आर्थिक २०७९/०८० को दश महिनाको तथ्यांकअनुसार कुल निर्यात २४ प्रतिशतले कमी आएको छ । भारतमा मात्र ३३ प्रतिशतले निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । यता चीनमा १ सय ६ प्रतिशतले निर्यात वृद्धि हुँदा अन्य मुलुकमा ८ प्रतिशतले बृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर