नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने एमालेको निर्णय

नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने एमालेको निर्णय
नेपालआईज
२६ भदौ २०८० १०:०८

नेपाल । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। मंगलबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले मंगलबारदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरिएको बताए । पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा मंगलबारदेखि तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको उनले बताए । उनले पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको पनि बताए ।

त्यस्तै नेम्वाङको इलामस्थित निर्वाचन क्षेत्रमा स्थानीय तहसम्म शोक मनाउने निर्णय भएको ज्ञवालीले बताए । पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले बताए । उनका अनुसार बैठक नेम्वाङको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको गएराति हृदयाघातबाट निधन भएको हो।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएको उनका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिए ।

नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रूपमा छवी बनाएका थिए । सुवासचन्द्र नेम्वाङको जन्म २००९ फागुन २८ गते इलाम जिल्लाको सुन्तलाबारीमा भएको थियो । उनले कानुनमा स्नातक (बीएल) गरेका थिए ।

स्नातक अध्ययनका क्रममा विक्रम सम्वत् २०२८ र २०२९ सालमा अनेरास्ववीयूबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति भएका थिए । विक्रम सम्वत् २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले) मा सङ्गठित एमाले केन्द्रीय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विक्रम सम्वत् २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता थिए। नेम्वाङ विक्रम सम्वत् २०६३ मा पुनः स्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष/सभामुख भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर