अस्ट्रेलियाली संसदीय भ्रमण टोलीको पहिलो नेपाल भ्रमण

अस्ट्रेलियाली संसदीय भ्रमण टोलीको पहिलो नेपाल भ्रमण
नेपालआईज
१७ असोज २०८० १२:४१

नेपाल । अस्ट्रेलियाली संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका सभामुख डीक मिल्टन नेतृत्वको टोलीले नेपालको भ्रमण गर्दैछ । अस्ट्रेलियाको संसदीय प्रतिनिधि मण्डलले यही असोज २० सम्म नेपालको भ्रमण गर्दैछ । अस्ट्रेलिया र नेपालबीच रहिआएको दौत्य सम्बन्धको ६ दशकमा अस्ट्रेलियाली संसदीय टोलीको यो पहिलो नेपाल भ्रमण हो ।

भ्रमण टोलीमा अस्ट्रेलियाली प्रतिनिधिसभाका सांसदहरू लिब्वी कोकर र जोआन रियान छन् । त्यस्तै, अस्ट्रेलियाको माथिल्लो सदन सिनेटका सदस्य सिनेटरहरू डीन स्मिथ र राल्फ वाबेट भ्रमण टोलीमा सहभागी छन् ।

भ्रमण टोलीले नेपालको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई भेट्ने तय भएको छ । अस्ट्रेलिया र नेपालका संसदहरूबीचमा थप सहकार्य गर्ने विषयमा छलफल हुनेछ ।

भ्रमण टोलीले सभामुख घिमिरेले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने र त्यस पश्चात भर्खरै स्थापित नेपाल-अष्ट्रेलिया संसदीय मित्रता समूहका सदस्य सांसदहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका अवसरमा दुई देशका प्रतिनिधिहरूले संसदीय प्रजातान्त्रिक अभ्यासहरू, संघीय व्यवस्थाको संचालन र तीनै तहका सरकारमा सुशासन प्रबर्द्धन गर्ने विषयमा पनि अनुभव आदान प्रदान गर्नेछन् ।

शिक्षा, विकास सहयोग, वाणिज्य र लगानी जस्ता क्षेत्रमा अस्ट्रेलिया र नेपालबीच रहेको जनता र सरकारस्तरीय सम्बन्धलाई यो भ्रमणले अझ मजबुत बनाउने विश्वास लिइएको छ ।

भ्रमण टोलीले अस्ट्रेलियाको सहयोगमा संचालित स्थानीय शासन सबलीकरण कार्यक्रम, जलवायु परिवर्तनले ल्याएको चुनौतीहरू र यसको प्रतिकार्यका कामहरू, साना किसानहरूलाई प्रदान गरिएको सहयोग र अटीजमलगायतका स्नायू विकाससम्बन्धी चुनौती झेलिरहेका व्यक्तिहरूलाई प्रदान गरिने सेवाहरूका बारेमा समेत जानकारी लिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर