Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
नेपालमा २५ करोड रुपैयाँको डलर र युरो बरामद, अवैध मुद्रा बोक्ने भरिया पक्राउ
नेपालआईज
४ चैत २०८१ १०:५१
काठमाडौं – २५ करोडभन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसाङ लामा रहेको खुलेको छ। यसअघि सुन तस्करी मुद्दामा जेल परेका लामा ठूलो परिमाणको नगदसहित पक्राउ परेका हुन्।
प्रहरीका अनुसार लामा टोखा नगरपालिका–१, झोर क्षेत्रबाट पक्राउ परेका हुन्। ना ७ ख १६५२ नम्बरको ट्रकमा केरूङतर्फ जाँदै गरेका उनलाई प्रहरीले फल्स बटम बनाई लुकाइएको अवस्थामा नगदसहित नियन्त्रणमा लिएको हो।
लामा यसअघि सात किलो सुन तस्करी प्रकरणमा पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरिसकेका थिए। जेलबाट छुटेपछि पनि उनले अवैध कारोबार जारी राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई थप अनुसन्धानका लागि राजस्व विभाग, हरिहर भवनमा बुझाएको छ। प्रहरीले लामासँगै ट्रक, मोबाइल र २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ बरामद गरेको छ।