आफूले शारीरिक तथा मानसिक हिंसा भोगेको भन्दै गायिका चौहान भन्छिन अब म चुप लाग्दिन

आफूले शारीरिक तथा मानसिक हिंसा भोगेको भन्दै गायिका चौहान भन्छिन अब म चुप लाग्दिन
नेपालआईज
३ साउन २०८२ १५:४९

काठमाडौँ । गायिका एलिना चौहानले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफूले विगतमा शारीरिक तथा मानसिक हिंसाको सामना गर्नुपरेको खुलासा गरेकी छिन् । उनले अब आफू चुप लागेर नबस्ने बताएकी छिन् । उनले आफनो विगतको व्यक्तिगत घटनाहरू सार्वजनिक गर्दै न्यायको लागि लाग्ने बताइन ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “हामीबिचको कुरा त आपसी समझदारीमै त्यही दिन सकिएको थियो। तर समाजकै दबाब, सामाजिक सञ्जालको दुरुपयोग र सतही धारणाले त्यो सकिएको कुरा फेरि दोहोर्‍याएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय गर्‍यो। म कानुनी प्रक्रियामा जान बाध्य भएँ।”

साथै उनले आफ्नो स्ट्याटससँगै पोस्ट गरेको तस्बिरमा उनको अनुहारमा निलो डाम र शरीरमा नङ्ग्राको चोट देखिएको छ, जसले उनीमाथि शारीरिक आक्रमण भएको पुष्टि गर्छ।

चौहानले स्पष्ट रूपमा यो लडाइँ कुनै व्यक्तिगत व्यक्तिविरुद्ध नभई एउटा मानसिकता विरुद्ध भएको उल्लेख गरेकी छन्, यो लडाइँ हो त्यस मानसिकतासँग, जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ  ।

उनका अनुसार, जब उनले आफ्ना भोगाइहरू सार्वजनिक गर्न थालिन्, समाजले फेरि उनलाई नै प्रश्न गर्न थाल्यो किन अहिले ? किन फेरि रुनु उनले भनेकी छन्, माथि फेरि प्रश्नहरू उठाइए, तर मलाई थाहा छ,यो देश अझै पनि पुरुष प्रधान सोचमा जकडिएको छ। यहाँ सत्य बोल्नेलाई नै अपराधी बनाइन्छ। तर अब म चुप लाग्दिन ।

गायिका चौहानले कानुनी, सामाजिक र नैतिक माध्यममार्फत न्यायका लागि सङ्घर्ष गर्ने दृढता व्यक्त गरेकी छन्। उनले भनेकी छन्, “अब यो केवल मेरो न्यायको लडाइँ होइन, यो हरेक नेपाली चेलीको आवाज हो। म एक्लो भए पनि, सत्य मेरो साथमा छ।”

उनको यो सार्वजनिक अभिव्यक्तिले समाजमा महिला हिंसा, पीडितको न्याय र सामाजिक धारणा विषयमा नयाँ बहस सिर्जना गरेको छ। यस प्रकरणमा उनले कसलाई दोषी देखाएकी हुन् भन्ने विषयमा उनले प्रत्यक्ष नाम उल्लेख गरेकी छैनन्। तर उनी कानुनी बाटोबाट न्यायको खोजी गर्ने बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर