एनआरएनए १२औँ विश्व सम्मेलनको तयारी तीव्र, परराष्ट्र मन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन

एनआरएनए १२औँ विश्व सम्मेलनको तयारी तीव्र, परराष्ट्र मन्त्रीको नेतृत्वमा उच्चस्तरीय समिति गठन
नेपालआईज
१७ माघ २०८२ ५:०२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको आयोजना तथा व्यवस्थापनका लागि सरकारद्वारा उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनको सम्पूर्ण तयारी समन्वय र व्यवस्थापनका लागि माननीय परराष्ट्र मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको हो।

परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार आगामी फागुन २९ देखि चैत्र २, २०८२ (मार्च १४–१६, २०२६) सम्म नेपालमा हुने विश्व सम्मेलनलाई सफल, प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समिति बनाइएको मन्त्रालयले जनाएको छ।

सरकारका विभिन्न निकाय, निजी क्षेत्र तथा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व रहने गरी गठन गरिएको समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरू सदस्य छन्। साथै नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, परराष्ट्र मन्त्रालयका श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा र आर्थिक कूटनीति महाशाखाका सह–सचिवहरू पनि समितिमा समेटिएका छन्।

त्यसैगरी निजी क्षेत्रतर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिषद् र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू तथा गैरआवासीय नेपाली संघका अध्यक्षहरू डा. बद्री के.सी. र महेश कुमार श्रेष्ठसहित संघका प्रमुख कार्यकारी अधिकृत समितिमा सदस्य रहेका छन्।

सरकारले एनआरएन विश्व सम्मेलनलाई नेपाल र प्रवासी नेपालीबीचको सहकार्य, लगानी, सीप र अनुभव आदान–प्रदानको महत्वपूर्ण मञ्चका रूपमा लिँदै त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र तयार गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर