काठमाडौं— लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन लगानी बोर्डले सहजीकरण गर्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा ग्लोबल सम्मेलनमा बोल्दै उनले नेपालमा विश्वास र आत्मविश्वासको वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र प्रवासी नेपालीबीच सहकार्य आवश्यक रहेको बताए।
उनले नीतिगत सुधार, कानुनी व्यवस्था र स्पष्ट प्रक्रियामार्फत लगानीको वातावरण बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे। लगानी बोर्डले विभिन्न निकायसँग समन्वय गरेर लगानी प्रक्रियालाई सरल बनाउने पनि उनले बताए।
कार्यक्रममा वक्ताहरूले नेपालमा जलविद्युत, पर्यटन, प्रविधि र पूर्वाधार क्षेत्रमा प्रवासी नेपालीको लगानीको ठूलो सम्भावना रहेको बताएका थिए। उनीहरूले नीतिगत स्थायित्व र पारदर्शी वातावरण निर्माण भए लगानी बढ्ने विश्वास व्यक्त गरे।