अस्ट्रेलियाले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरको शिक्षाका माध्यमबाट विश्वव्यापी रोजगारीका अवसरहरु प्राप्त गर्न सहयोग गरिरहेको छ र भविष्यमा विद्यार्थीहरुलाई थप सहयोग गर्न प्रतिवद्द छ। शिक्षाको सम्बन्धलाई थप सबल बनाउने उपायहरुको पहिचान गर्न अष्ट्रेलियाका उच्च तहका अधिकारीहरुले काठमाण्डौ भ्रमण गरेका छन् ।
काठमाण्डौ । नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्कको नेतृत्वमा आठ अष्ट्रेलियाली अधिकारीहरुको टोलीले नेपाल र अष्ट्रेलिया बीचको शैक्षिक सम्बन्धहरुलाई थप सुदृढ बनाउने बारे छलफलहरुमा सहभागी भएको छ ।
विगतका वर्षहरुमा बढ्दो संख्यामा नेपाली विद्यार्धीहरुले अष्ट्रेलियामा उपलब्ध विश्वस्तरको शिक्षा लिने र त्यहा प्रदान गरिने अध्ययन पश्चातको रोजगारीका अवसरहरु रोजेका छन् । झण्डै दुई वर्षसम्म अष्ट्रेलिया अन्तराष्ट्रिय आगन्तुकहरुका लागि बन्द रहेतापनि अस्ट्रेलियालाई आफ्नो अध्ययनको गन्तब्य बनाउन चाहाने विद्यार्थीहरुको संख्यमा वृद्दि भएको छ ।
नेपाल हाल अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थीहरुको तेस्रो ठुलो स्रोत रहेको छ । अष्ट्रेलियामा नेपाली डायस्पोरा वृद्दि भईरहेको छ । विद्यार्थीहरुले आफ्ना परिचित साथीहरु र परिवारका सदस्यहरुको समिपमा रहेर उत्कृष्ट स्तरको शिक्षाको अनुभव गर्ने र शिक्षा पश्चात आफ्नो जीवनको तयारी गर्ने सहज अवसर प्राप्त गरिरहेका छन् ।
सिनियर ट्रेड कमिसनर डा. मोनिका केनेडी विद्यार्थीहरुले अष्ट्रेलिया रोज्नुको धेरै कारणहरु रहेको तर शिक्षाको गुणस्तर मुख्य कारण भएको बताउनुहुन्छ । “उच्च गुणस्तर, कडा गुणस्तर प्रत्यायोजन प्रणाली, अन्तराष्ट्रिय विद्यार्थीहरुलाई भरपुर सहयोग, सामयिक पाठ्यक्रम र अध्ययन पश्चात रोजगारी प्राप्त गर्ने उच्च दर आदि कारणहरुले विद्यार्थीको लगानिको राम्रो प्रतिफल प्राप्त हुने हूँदा अष्ट्रेलियाली शिक्षाको विश्वभरमा उच्च माग रहेको छ ।”
शिक्षा काउन्सिलर ब्रेट गाल्ट-स्मिथले विद्यार्थीहरुलाई प्रदान गरिने सहयोगहरुमा जोड दिंदै भन्नुभयो, “अष्ट्रेलियामा विश्वका अन्य देशको तुलनामा निकै सहयोगी अन्तराष्ट्रिय शिक्षा प्रणाली रहेको छ । अष्ट्रेलियाको अन्तराष्ट्रिय शिक्षा रणनिती २०२१-२०३० ले विद्यार्थीहरुको अनुभव, सुरक्षा र अधिकारहरुलाई केन्द्रविन्दुमा राखेको छ ।”
कोभिड-१९ ले लाखौं विद्यार्थीहरुको जीवनलाई असर गर्यो । मु्ख्यतः सीमा बन्द भएकाले र स्वास्थ्य जोखिमका कारण विश्वभरमा धेरै अन्तराष्ट्रिय विद्यार्थीहरुले अप्ठ्यारो अनुभव गरे । यसै समयमा अष्ट्रेलियाली ट्रेड ईन्भेष्टमेण्ट कमिसनले अन्तराष्ट्रिय विद्यार्थीहरुकालागि उनीहरुले अध्ययन गर्ने विषयहरुको बारेमा र अष्ट्रेलिया आउने तयारी गर्ने विषयमा निर्णय गर्न सहयोग गर्न अनलाईन स्रोतहरु उपलब्ध गराएको छ । Study Australia वेबसाईटमा पढाईको तयारी गर्न र रोजगारीका लागि सहयोगी सीपहरु सिक्न र वृत्ति विकास र सम्बन्धीत विषय छनौट गर्न सहयोगी माईक्रो क्रेडेन्सियलहरु पनि उपलब्ध छन् ।
हालै मात्र अष्ट्रेलियाली विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि Study Australia Industry Immersion Program (SAIEP) सार्वजनिक गरिएकोछ । यसले विद्यार्थीहरुको रोजगारमुखी सीपहरु विकास गर्न र विश्वभरका रोजगार दाताहरुसंग सम्पर्क गराउन सहयोग गर्नेछ । Study Australia र नेपाली विद्यार्थीहरुको लागि उपलब्ध सहयोगी सामाग्रीहरु https://www.studyaustralia.gov.au मा उपलब्ध छ।