स्वदेशी उत्पादन अभियान्ता ललितपुरकी सबिता सिंहको कथा, अस्ट्रेलिया र बेलायतसम्म हस्तकला पसल खोल्दै

स्वदेशी  उत्पादन अभियान्ता ललितपुरकी सबिता सिंहको कथा, अस्ट्रेलिया र बेलायतसम्म हस्तकला पसल खोल्दै
नेपालआईज
८ असार २०७९ १०:२६

ललितपुरको साना गाउँको पहिचान बनेको रेसाजन्य हस्तकला बचाउन मात्र नभएर यहाँको हस्तकलालाई  अन्तर्राष्ट्रिय बजार सम्म पुर्‍याउन साना गाउँकी  उद्यमी सबिता सिंह लागि पर्नुभएको छ । 

विगत २६ वर्षदेखि यसैमा काम गर्दै आउनुभएकी सबिताले पछिल्लो समय आफैँले सबिता कपडा उद्योग स्थापना गरी व्यवसाय विस्तार र विविधीकरण सुरु गर्नुभएको हो । उहाँ आफू मात्र नभई नेपाल हस्तकला महासङ्घ र आफ्नै उद्योगमार्फत अन्य महिलालाई तामिल दिएर उद्यमशील बनाउँदै आउनुभएको छ भने बजारीकरणमा पनि सघाउँदै आउनुभएको छ ।

 स्वदेशी उत्पादन विदेशमा  निर्यात 


उत्पादित वस्तुको बजारीकरणका लागि उहाँले ललितपुरको मंगलबजार बखुण्डोलमा सो रुम सचालन गर्नुभएको छ । विदेशमानसमेत सो रुम सञ्चालनको तयारी हुँदै छ । सबै उमेर समूहका लागि तयारी कपडा उत्पादन गर्दै आएको र स्वदेशी उत्पादनप्रति आकर्षण पनि बढ्न थालेको उहाँ बताउनुहुन्छ ।

पहिलो चरणमा  अस्ट्रेलिया  र बेलायतमा सो रुम सञ्चालनका लागि तयारी भइरहेको सिंहले बताउनुभयो ।

ललितपुर महानगरपालिकाका केही वडा कार्यालयहरूबाट समेत अर्डर आउन थालेको छ । कर्मचारी र जनप्रतिनिधिको पोशकाका लागि अर्डर आएको हो । विदेश मात्र नभई स्वदेशमा पनि आफ्ना उत्पादन माग हुन थालेपछि उत्साह जागेको, ऊर्जा थपिएको उहाँ बताउनुहुन्छ । महिला उद्यमशीलता प्रवर्द्धनका लागि नेपाल हस्तकला महासङ्घले प्रदेश २ र बागमती प्रदेशसँगको सहकार्यमा प्रदेश २ र बागमती प्रदेशमा सबिताकै अगुवाइमा महिला उद्यमी मेला आयोजना गरेको थियो ।  

सविता कपडा उद्योगले हाते तान र मेसिन दुबैबाट कपडा उत्पादन गर्दै आएको छ ।  उद्योग प्रत्यक्षरुपमा १७ जनाले रोजगारी पाएका छन् भने अप्रत्यक्षता ६० जनाभन्दा बढीले रोजगारी पाएका छन् । 

उद्यमले  मिलेको उपहार 

उहाँले राष्ट्रपति समुन्नति पुरस्कार कार्यक्रमअन्तर्गत बागमती प्रदेशबाट उत्कृष्ट उद्यमीसहित एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । विगतमा पनि बागमती प्रदेशबाट प्राप्त दुई लाख बराबरको प्रविधि पुरस्कारबाट  उद्योगको स्तरोन्नति र आधुनिकीकरण गर्नुभएको थियो । उहाँको अभियानमा  ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले पनि सहकार्य र सहजीकरण गर्दै आएका छन् । 

सविताको उद्यमशीलताको कदर गर्दै पहिलो पटक कास्की उद्योग वाणिज्य सङ्घले पुरस्कृत गरेको थियो भने नेपाल हस्तकला महासङ्घ, घरेलु तथा साना उद्योग महासङ्घबाट पनि सम्मान प्राप्त गर्नुभएको छ । पुरस्कार, सम्मान, सहजीकरण र सहकार्य गर्ने सम्बन्धित निकायहरूप्रति आभार प्रकट गदै सम्मानबाट अझै जिम्मेवारी थपिएको महसुस भएको उहाँ बताउनुहुन्छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलाका क्रममा विभिन्न मुलुकको भ्रमण गरिसक्नुभएकी सबिता आफ्नो पेसाप्रति सन्तुष्ट हुनुहुन्छ । 


पहुँच नहुँदा  सुविधा पाउन गाह्रो 


त्यसो त उद्यम गर्न त्यत्ति सहज छैन । कच्चा पदार्थ, दक्ष कामदार, लगानी, बजार अभावका साथै कच्चा पदार्थमा भन्सार शुल्क कारण आयातित कच्चा पदार्थ महँगो हुन गई उत्पादित वस्तुको बजार प्रतिस्पर्धामा चुनौती रहेको उहाँ बताउनुहुन्छ । सबिता भन्नुहुन्छ‘दक्ष जनशक्ति अभाव छ, विगतमा कच्चा पदार्थ यही पाइन्थ्यो तर अहिले आयात गर्नुपर्छ, भन्सार शुल्कका कारण कच्चा पदार्थ थप महँगो हुने गरेको छ । त्यस्तै लगानीका लागि पुँजी अभाव छ । सरकारले सहुलियत कर्जा र पुन कर्जाको व्यवस्था गरेको भए पनि कर्जा पाइरहेको अवस्था छैन ।

धितोमा पनि कर्जा पाइँदैन । पहुँच नहुने महिला उद्यमी त झन् समस्यामा छन् ।’सरकारले स्वदेशी उद्योगको प्रवर्द्धनका लागि स्वदेशी वस्तु प्रयोग गरिने बताउँदै आए पनि कार्यान्वयन नभएको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ‘सरकारले हेटौडा कपडा उद्योग पुनः सञ्चालन गरी त्यहाँबाट उत्पादित कपडा प्रयोग गर्ने भनेको छ, हाम्रो उत्पादन पनि स्वदेशी हो, उत्पादन भइरहेको कपडा नै किन प्रयोग नगर्ने ? हामी मागअनुसार उत्पादन गर्न सक्छौँ, जति चाहिए पनि दिन तयार छौैं ।’ 

स्वदेशी उत्पादन विशिष्टलाई अनिवार्य गर्नुपर्छ 


आफूले उत्पादन गरेको तयारी कपडा प्रधानमन्त्री, उपराष्ट्रपति र मुख्यमन्त्रीले सार्वजनिक कार्यक्रममै लगाएर स्वदेशी उत्पादनप्रति सम्मान प्रकट गरेकोमा भने उहाँ आशावादी देखिनुहुन्छ । निकट भविष्यमै राज्यका अन्य निकायलाई स्वदेशी कपडा अनिवार्य गरिनुपर्ने सबिताको माग छ ।
विगतमा सुती कपडा मात्रै उत्पादन हुँदै आएकोमा अहिले उत्पादनमा विविधीकरण सुरु भएको छ । अलैँची, केरा, गाँजा, जुटबाट पनि कपडा उत्पादन सुरु गरिएको उहाँ बताउनुहुन्छ । जसको मागसमेत बढ्दो क्रममा रहेको छ ।


 शिक्षिका सबिता विवाहपछि व्यवसायमा 

सुरुमा सबिताकी सासू आमा चम्पा महर्जनले दुई वटा हाते तानबाट व्यवसाय सुरु गर्नुभएको थियो । आफ्नो विवाहपछि सबिताले पेसालाई निरन्तरतामात्रै दिनुभएन व्यवसायीकरण र आधुनिकीकरण गर्दै व्यापकता दिनुभयो । त्यसो त सविताको यो पुख्र्याैली पेसा थिएन । विवाहपछिमात्रै यसमा जोडिनुभएको हो,  बिबाहअघि उहाँ शिक्षिका हुनुहुन्थ्यो । विवाहपछि सासू आमा र श्रीमान् सर्जु सिंहको प्रेरणाले सबिता पनि यसैमा समाहित हुनुभयो ।

किनभने श्रीमान्को यो पुर्ख्यौली पेसा हो । सर्जुले चार वर्षको उमेरदेखि नै काम गर्दै आउनुभएको थियो । आफ्नै घरको काम भए पनि उहाँ ज्याला पाउनुहुन्थ्यो । धागो काटेर स्कुलको खाजा खर्च जुटाउनुहुन्थ्यो । बुबा आमाले कामप्रति आकर्षित गर्न आफ्नै छोरालाई पनि ज्याला दिने गर्नुभएको थियो ।  सबिता भन्छिन्, आमाको त्यही सोचका कारण म यहाँसम्म आइपुगेको हुँ । अहिले खुसी लाग्छ, धेरै सर्पोट छ, हरेक उद्यमी महिलाका आमाहरू मेरी आमा जस्तै भइदिए हुन्थ्यो भन्ने लाग्छ ।’


नयाँ पुस्तालाई सबिताको सुझाव 


सबिताले पुस्तान्तरणका लागि विदेश रहेका दुई छोरीलाई पनि  हस्तकला व्यवसायमा लाग्न प्रेरित गर्नुभएको छ । सोही क्रममा  अस्ट्रेलियामा  सो रुम स्थापना गर्न लागिएको उहाँको भनाइ छ । नेपाल हस्तकला महासङ्घसँगको सहकार्यमा अन्य मुलुकमा नेपाली हस्तकलाको प्रवर्द्धन गर्दै जाने उहाँको लक्ष्य छ । नेपाल हस्तकला महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका सङ्घ सस्तामा आबद्ध सबिताको विभिन्न सामाजिक कार्यमा समेत सक्रियता देखिन्छ । सोही क्रममा उहाँले आफ्ना शारिरका सबै अङ्गसमेत दान गरिसक्नुभएको छ । दृढ इच्छाशक्ति र लगनशीलताकी पर्याय र सफल उद्यमी महिला सबिता अन्य महिलाका लागि पनि प्रेरणा पात्रका रूपमा प्रस्तुत हुँदै महिला सशक्तीकरण अभियानसमेत इँटा थप्ने काम गर्नुभएको छ ।     

पत्रकार लेखनाथ पोखरेलको फिचर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर