Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अस्ट्रेलियाका नेपालीहरूको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको रगत परीक्षण गर्ने उपकरण हस्तान्तरण
नेपालआईज
९ असार २०७९ २२:०२
काठमाडौँ । भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौँस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेको छ ।
विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अस्ट्रेलियामा कार्यरत नेपालीहरूको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो ।
उपकरण हस्तान्तरण कार्यक्रममा पूर्व अर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शंकरप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रूपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी लागेको र यसले विपन्न वर्गको स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सरकारी विद्यालयमा ई लर्निङ अभियान सुरु गरेको संस्थाले अब शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउने जानकारी दिनुभयो । भरतपुर अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा. भोजराज अधिकारीले ३५ लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा दिइरहेको अस्पतालका लागि उपकरण उपयोगी हुने बताउनुभयो ।
उहाँले सेवाका क्षेत्रमा अस्पताल सहकार्य गर्न तयार रहेको स्पष्ट गर्नुभयो । अस्पताल प्रमुख प्रा.डा. कृष्णप्रसाद पौडेलले दैनिक दुई हजार बढी रोगीहरूको चाप रहने भरतपुर अस्पतालको विकासमा सहयोगी हातहरूको उदारता प्रशंसनीय रहेको बताउनुभयो । संस्थाका अध्यक्ष प्रमेश केसी र स्वयंसेवी आरोहणनरसिंह खड्काले संस्थाको गतिविधि अब दुर्गम क्षेत्रमा केन्द्रित गर्ने बताउनुभयो ।
उहाँहरूले अब ईश्वर मन्दिर र अम्याजिङ प्यारेन्टसको सहकार्यमा शिक्षा र स्वास्थ्यका गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो ।ईलेक्ट्रोलाईट एनालाईजर उपकरणको बजार मूल्य १० लाख पर्न आउने बताइन्छ । एक महिनाअघि यही प्रकृतिको दुई उपकरण देशकै जेठो स्वास्थ्य संस्था वीर अस्पताललाई प्रदान गरिएको थियो ।