अस्ट्रेलियाको कमन वेल्थ वैंक लगायत विदेशी बैङ्कमा करोडौं रकमको शंकास्पद कारोबार गरेको अभियोगमा नेपालमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नुवाकोट विदुर नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।
पक्राउलगत्तै उनको मोबाइल र ल्यापटप पनि बरामद गरिएको थियो । मोवाइल र ल्यापटपको फरेन्सिक ल्याबमा जाँच गर्दा ठूलो मात्राको रकम देखिएको हो । यो रकम तथा उनको कारोबार शंकास्पद देखिएकाले उनलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले जानकारी दिए । उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको छ । श्रेष्ठलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ को कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
पक्राउलगत्तै उनलाई अभद्र व्यवहारसम्वन्धी कसुरमा हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । फरेन्सिक ल्यावमा परीक्षणपश्चात् उनको नाममा अष्ट्रेलियाको कमन वेल्थ बैंक, रोयल बैंक अफ क्यानडामा रकम कारोबार, क्यानडाकै बैंकमा सेयर कारोबार, नेपालको नबिल बैंकमा डलर कारोबार, एनआईसी बैंक र एभरेष्ट बैंकमा सेयर र रकम लगानी गरेको पुष्टि भएको छ । उनका अधिकांश कारोबार अमेरिकी डलरमा गरिएको छ । नेपाल राष्ट्र बैंकको अनुमतिबिना नेपालमा विदेशी विनिमय हुने कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।