भर्चुअल तथा क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी, गरेको पाइए कारबाही !

भर्चुअल तथा क्रिप्टोकरेन्सी सम्बन्धी  कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी,  गरेको पाइए कारबाही !
नेपालआईज
३० साउन २०७९ १२:३०

काठमाडौं – राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सी सम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ । सोमबार राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डको कारोबार गैर कानूनी भएको भन्दै त्यस्तो कारोबार नगर्न/नगराउन निर्देशन दिएको हो ।

‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल/क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको, कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र कुनै सुरक्षण नभएको हुँदा भर्चुअल/क्रिप्टो कारोबार गैरकानुनी रहेको छ’ राष्ट्र बैंकले चौथो पटक निकालेको सूचनामा भनिएको छ ‘यस्तो कारोबार, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फण्डमा सम्पत्ति सुद्धीकरण तथा आतंककारी क्रियाकलाप लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदि सम्बन्धी जोखिमहरु अन्तरनीहित रहन्छ ।’

भर्चुअल करेन्सी र क्रिप्टोले नेपालमा कानूनी मान्यता नपाएको, यसको जमानत सरकार नभएको र कुनै पनि सुरक्षण नभएकोले जोखिममा नफस्न भनेको छ । क्रिप्टो कारोबार नगर्न सचेत गराउँदै राष्ट्र बैंकले चौथो पटक सूचना जारी गरेको हो । यसअघि २०७४ साउन ९ गते, २०७८ भदौ २४ गते र २०७८ माघ ९ गते सार्वजनिक सूचना मार्फत सचेत गराएको थियो ।

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीले कुनै पनि प्रकारका भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी तथा हाइपरफण्डका कारोबार गरे/गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ सम्बन्धी कार्य गर्ने/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर