बागलुङ – पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजाती मध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबर्द्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् ।
सिगानाका अगुवा सुन्तला किसान रामबहादुर खडकाले तीन वर्षदेखि अकबरे खुर्सानी खेती गर्दै आएका छन् । खड्काले पहिलो वर्ष लगाएको अकबरे खुर्सानीको माग राम्रो आएपछि यो खेतीतर्फ आकर्षित भएको बताए । उनले लगातार दुई वर्षदेखि दुई रोपनी जग्गामा व्यवसायीक रुपमा अकबरे खुर्सानी उत्पादन गर्छन र यसको अचार बनाएर ‘ब्रान्डिङ’ समेत गर्दै आएका छन् ।
खड्काले खुल्ला स्थानमा भन्दा प्लाष्टिक टनेलमा राम्रो गुणस्तरको खुर्सानी फल्ने गरेको अनुभव सुनाए । उनले पाकेको अकबरे खुर्सानी सुकाएर बनाएको अचार सहकारीको लोगो राखेर प्याकेजिङ गरेर बिक्री वितरण गर्दा दुईदेखि तीन वर्षसम्म स्वस्थ नै हुने बताए । उनका प्लाष्टिक टनेलमा अहिले करिब आठ सय अकबरे खुर्सानीका बिरुवा छन् ।
उत्पादन भएका खुर्सानी स्थानीय श्रीगणेश कृषि व्यवसायिक सहकारी संस्थाको ब्राण्डमा बिक्री गर्ने गरिएको छ । उनले सहकारी मार्फत् संस्थाका शेयर सदस्यलाई अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको सहकारीले जनाएको छ । खड्काले यो वर्षमा एक लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने लक्ष्य राखेका छन् ।
अकबरे खुर्सानीको स्वदेश र विदशेमा माग बढ्दै गएपछि स्थानीय किसान सुरेन्द्र खड्का र शिव खड्का समेतले अकबरे खुर्सानी उत्पादन गर्न थालेका छन् । तीन जना कृषकले नै उत्पादन गरेको खुर्सानी सहकारीको ब्रान्डमा अहिले अचार बनाएर बजार पठाउने गरेका छन् ।
सहकारीले एक हजार आठ सय खुर्सानीका बिरुवा आगामी वर्ष वितरण गर्ने र सहकारीमार्फत् ब्राण्ड बनाएर बिक्री गर्ने योजनामा सहकारीको रहेको सो सहकारीका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए । यस वर्ष ५० हजार रुपैयाँको अकबरे खुर्सानीको अचार बिक्री गर्ने लक्ष्य रहेको शिव खड्काले बताए ।
भान्सामा स्वाद र पिरोका लागि रुचाइएको अकबरे खुर्सानीको पछिल्लो समयमा स्वदेशी र विदेशी बजारमा पनि माग बढ्दै गएको उनीहरुको भनाइ छ । अकबरे खुर्सानी बढी पिरो हुने भएपनि स्वास्थ्यमा असर नगरेर फाइदा गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्दै आएको किसानहरुको अनुभव छ । – रासस