नेपाल । नेपाली चलचित्र ‘सिड्नी’ निर्माण हुने भएको छ । अस्ट्रेलियाको शहर सिड्नीको विषयमा नेपाली चलचित्र निर्माण हुन लागेको हो । देवकुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको यो चलचित्रको आइतबार साँझ काठमाडौँमा कार्यक्रम गरी घोषणा गरिएको छ ।
चलचित्रमा सविन श्रेष्ठ र रीमा विश्वकर्माको मुख्य भूमिका रहने छ । ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने यो चलचित्रको छायाङ्कन वैशाखबाट हुने निर्माण पक्षले जनाएको छ । नेपालदेखि अस्ट्रेलियासम्मको कथावस्तु समेटिने ‘सिड्नी’ मा नेपाली विद्यार्थीको संघर्ष देखाइने निर्देशक श्रेष्ठले जानकारी दिए ।
अमर रसाइलीको प्रस्तुतिमा तयार हुने फिल्मका निर्माता भीमराज रसाइली र चोलाबहादुर आचार्य छन् । युगलध्वज कार्कीको लेखन रहेको चलचित्रमा हरिबहादुर घलेले छायाङ्कन गर्नेछन् । प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे रहेको फिल्म एक्सन तथा थ्रिलर जनरामा निर्माण हुनेछ । अभिनेता सविन यो फिल्ममा एक्सन भूमिका देखिने छन् ।