दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा उडान प्रशिक्षणका क्रममा रहेको विमान दुर्घटना हुँदा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।
आइतवार बिहान उडान प्रशिक्षणका क्रममा जोहानेस्बर्गको एफएनबी रंगशालाको आसपास क्षेत्रमा विमान दुर्घटना हुँदा प्रथम सुवेदीको निधन भएको हो । दुर्घटनामा डच प्रशिक्षक एरियन अस्सादको समेत मृत्यु भएको नेपाली दूतावास प्रिटोरियाले जनाएको छ।
सुवेदी काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५् जोरपाटीका स्थायी बासिन्दा हुन् । उनी दक्षिण अफ्रिकाको मिडरयाण्डस्थित ग्राण्ड सेन्ट्रल एअरपोर्टको फ्ल्याइट ट्रेनिङ सर्भिसेस् (एफटीएस) प्रशिक्षण संस्थामा व्यावसायिक पाइलट लाइसेन्स कोर्स गरिरेहका थिए ।
मृतक विद्यार्थीको शव नेपाल पठाउने एवं अन्य राहत, क्षतिपूर्तिलगायतका विषयमा पाइलट प्रशिक्षण प्रदायक संस्था एफटीएस, पाइलट प्रशिक्षणका लागि दक्षिण अफ्रिका पठाउन सहजीकरण गर्ने नेपाली संस्था काठमाडाैँ एलियन्स एजुकेशन र मृतकका परिवारजनसँग समन्वय गरिरहेको नेपाली दूतावासले जनाएको छ ।