मोबाइल बैंकिङमा अनधिकृत पहुँच बनाएर रकम चोरी गर्ने आठ जना पक्राउ

मोबाइल बैंकिङमा अनधिकृत पहुँच बनाएर रकम चोरी गर्ने आठ जना पक्राउ
नेपालआईज
२० माघ २०७९ १७:५१

नेपाल । एपमार्फत् मोबाइलमा अनधिकृत पहुँच बनाएर रकम चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मोबाइल बैंकिङ्क खाता ह्याक गरी चार लाख रुपैयाँ निकालेको आरोपमा आठ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलिप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमार छन् ।

उनीहरूलाई काठमाडौँ र मकवानपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले ललितपुर सातदोबाटोका एक व्यक्तिको एनआईसी एसिया बैंकमा रहेको चार लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा ट्रान्सफर गरी चोरी गरेका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रवार पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिएका हुन् ।

अभियुक्तहरूका साथबाट नौ थान मोबाइल, एक थान ल्यापटप र पाँच थान एटीएम कार्ड पनि बरामद गरिएको छ । यो गिरोहले ठगी धन्दा गर्नका लागि ‘नेपाली गर्ल’ नामक एप बनाएका थिए ।

‘नेपाली गर्ल’ ले सेक्स पार्टनर उपलब्ध गराउने भन्दै उनीहरूले ह्वाट्स एपमार्फत् यो एप सर्वसाधारणलाई पठाएर इन्स्टल गर्न लगाउने गरेका थिए । त्यसपछि एपमार्फत् उनीहरूले अनधिकृत रूपमा सर्वसाधारणका मोबाइल बैंकिङमा पहुँच बनाएर विभिन्न व्यक्तिका ई–सेवा र खल्ती अकाउण्टमा ट्रान्सफर गरी रकम झिक्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर