नेपाल । विदेशमा रही नेपाली महिलाको चरित्रहत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका युवालाई स्वदेश फर्किने बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियाका २२ वर्षीय हरिहरप्राद यादवलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय र सहयोगका आधारमा पक्राउ गर्न सफल भएको छ । अभियुक्त यादवले पीडित महिलाको नाबालिका बहिनीसमेत सँगै भएको तस्बिर प्रयोग गरी सामाजिक सञ्जालमा चरित्रहत्या हुने अश्लिल शब्दहरू लेखेको आरोप छ ।
चरित्रहत्या गरेको, मानसिक तनाव, दुःख हैरानी दिने गरेको भन्दै पीडितले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् । उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ५ दिन म्याद थप भएर आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।