नेपाल । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छाड्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
एमालेले सरकार छोड्ने र सरकारबाट बाहिरिने निर्णय गरेको एमालेका उपाध्यक्षसमेत रहेका विष्णु पौडेलले जानकारी दिएका छन् । जेनेभा उड्न लागेका परराष्ट्रमन्त्री विमला पौडेल राईलाई प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेको कारणले पनि अहिले नै सरकार छोड्नु परेको उनले बताए ।
राजीनामा नदिँदा बर्खास्त गर्ने वा बिना विभागीयमन्त्री बनाएर राख्ने सूचना पाएकाले पनि यो निर्णय गरिएको उनले जनाए ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित आठ दलको गठबन्धन बनाएपछि रुष्ट बनेको एमाले अलग भएको हो ।
नेकपा एमालेले संघीय सरकारलाई दिएको समर्थन फिर्ता र सरकार छाड्ने निणर्य गरेको भए पनि प्रदेश सरकारहरूमा रहने/नरहने विषयमा कुनै निर्णय गरेको छैन ।