नेपाल । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । ४५ वर्षीय थारुको पोर्चुगलको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो । कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए ।
चौधरीकै अभिनय तथा लगानीमा निर्माण भएको थारु फिल्म ‘बौछार’, ‘जीवन एक लदिया हो’ लगायत हिट भएका थिए । कराँतेका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका चौधरी थारु फिल्मको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।
उनी धनगढी उपमहानगरपालिका-१ शिवनगरका बासिन्दा हुन् । उनी सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका थिए । चौधरीका आमा, पत्नी र तीन छोरी छन् ।
यसैबीच, अभिनेता चौधरीको निधनमा एनआरएनए पोर्चुगलले शोक व्यक्त गरेको छ । एनआरएनए पोर्चुगलले सिङ्गो नेपाली समुदायको तर्फबाट मृतक चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।