नेपाल । नयाँ राष्ट्रपतिको निर्वाचनअन्तर्गत मतदानको सम्पूर्ण तयारी पूरा भएको छ । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा मतदान हुनेछ । यसका लागि प्राविधिक, जनशक्ति र अरू व्यवस्थापकीय काम पूरा भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन् । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।
राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।