नेपाल । अटिजमसम्बन्धी जनचेतना जगाउने उद्देश्यले काठमाडाैँमा सांगीतिक कार्यक्रम हुने भएको छ । अष्ट्रेलियाली सरकारको सहयोगमा चैत्र ४ गते शनिबार साँझ टुँडिखेलमा हुने कार्यक्रममा काठमाडाैँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाइटी र प्रख्यात नेपाली रक सांगीतिक समूह १९७४ एडीहरूले सहकार्य गरेका छन् । कार्यक्रमलाई सहयोग गर्न पाएकोमा अष्ट्रेलियाली दूतावासले खुशी व्यक्त गरेको छ ।
नेपालमा करिव तीन लाख बालबालिकामा अटिजम हुन सक्ने अनुमान छ । समयमै ध्यान दिए अटिजम भएका बालबालिकाको सिकाइमा सुधार ल्याउन, सञ्चार सिपको विकास गर्न र मष्तिस्क विकासमा समेत सकारात्मक प्रभाव पार्न सकिन्छ ।
अटिजम केयर नेपाल सोसाइटी (एसीएनएस) की अध्यक्ष डा. सुनिता मलेकुले भनिन्, ‘नेपालमा अटिजमको फैलावट व्यापक रहेको भए पनि हाम्रो समाजमा अटिजमबारे एकदम कम छलफल हुन्छ र समुदायमा अटिजमको बारेमा जानकारी सीमित रहेको छ । अभिभावक, स्वास्थ्यकर्मी तथा सरोकारवालाले बालबालिकामा हुने विकासात्मक ढिलाइहरू र भिन्नताहरूको कम जानकारी राख्ने गरेका कारण पनि अटिजमको अवस्था निदान गर्न ढिलो हुने गरेको छ ।’
यो सांगीतिक कार्यक्रमले अटिजमलाई आंगाल्न, यसलाई थप ध्यान दिन, बुझ्न, स्वीकार गर्न र यो अवस्था प्रतिको दृष्टिलाई अझ व्यापक बनाउन र सामाजिक समावेशीता प्रबर्द्धनमा मद्दत गर्ने एसीएनएसको विश्वास छ ।
त्यस्तै, काठमाडाैँ महानगरपारिकाकी उपमेयर सुनिता डंगोलले महानगरले अपांग समावेशीतालाई विशेष कार्यक्रमका रूपमा लिएको र यस क्षेत्रमा विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरिरहेको बताइन् । उनले भनिन्, ‘सबै जनालाई उक्त सांगीतिक कार्यक्रममा सहभागी भई अटिजमबारे जनचेतना फैलाउन सहयोग गर्न आह्वान गर्दछु ।’
नेपालका लागिअष्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कले अष्ट्रेलियाली सरकार अपांग समावेशी विकासलाई प्राथमिकाताका साथ प्रबर्द्धन गरेको बताए । उनले भने, ‘यो सांगीतिक कार्यक्रम ऐतिहासिक हुनेछ र यो समय क्रमको एक क्षण हुनेछ । जब कार्यक्रमका सहभागीहरू शनिबार साँझ टुँडिखेलबाट घर जानेछन् तब विश्व विख्यात सांगीतिक समूह १९७४ एडीको प्रस्तुतिले उनीहरूलाई उर्जा प्रदान गर्नेछ । म आशा र प्रार्थना गर्छु सहभागीहरूले त्यो उर्जा र उत्साह अटिजमलाई अंगाल्न र यसको बारेमा सबैलाई जानकारी दिनुहुनेछ ।’
उनले भने, ‘आउँदो हप्ता, महिना र वर्षहरूमा उनीहरूले मष्तिस्क विविधता भएका व्यक्तिहरूलाई सहयोग गर्ने व्यावहारिक उपायहरू अपनाउनु हुनेछ किन भने हाम्रो विविधतामा प्रसस्त सुन्दरता र शक्ति रहेको हुन्छ ।’
त्यसैगरी, सांगीतिक समूह १९७४ एडीले, ‘हामी अटिजमलाई अंगाल्छौँ र अटिजमका लागि सांगीतिक कार्यक्रम गर्न पाउँदा निकै खुशी छौँ’ भनेको छ ।