नेपाल । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरिक्षकमा (आईजीपी) बनाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
तीन दिनअघि मात्रै उहाँ डीआईजीबाट एआईजीपीमा बढुवा भएका थिए । वरिष्ठ पाँच एआईजीमध्ये कुँवर पहिलो वरीयतामा थिए । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् ।
त्यसैक्रममा आजैबाट अवकाश हुन लागेका आईजीपी धिरजप्रताप सिंहलाई धन्यवादसमेत व्यक्त गरेका छन् । वर्तमान आईजीपी सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेदेखि अनिवार्य अवकाश पाउँदै छन् ।
२०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कुँवरमा ‘हाकिम शैली’ नदेखिएको उनी निकट प्रहरी अधिकारीहरू बताउँछन् । कुँवर अर्घाखाँचीको सन्धिखर्कस्थित तुम्कोटमा जन्मेहुर्केका हुन् । उनी प्रहरीमा निडर र इमानदार छविको अधिकृतका रूपमा परिचित छन् ।