नेपाल- नेपाल वायुसेवा निगमले काठमाडौँ–अस्ट्रेलिया उडान सुरु गर्ने भएको छ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काठमाडौँबाट सिंगापुर हुँदै अष्ट्रेलिया उडान गर्ने गरी प्रस्ताव पेस गरेको हो ।
अस्ट्रेलिया सिधा उडान गर्नका लागि लगातार १० हजार किलोमिटर (करिब १६ घण्टा) उडान भर्नसक्ने क्षमताका जहाज चाहिन्छ । तर, हाल निगमसँग भएका ठूला जहाज (वाइड बडी) निरन्तर ५ हजार ९ सय किलोमिटर (करिब ९ घण्टा) मात्र उडान भर्ने क्षमताका भएकाले सिंगापुर हुँदै अस्ट्रेलिया उडान सुरु गर्ने तयारी गरिएको हो ।
निगमसँग भएको एयरबस ३३० जहाजले सिधा अस्ट्रेलियाको सिड्नी उड्न नसक्ने भएकाले सिंगापुरमा तेल भरेर सिधा उडान गर्ने प्रस्ताव पेस गरेको हो । गत वर्ष नै नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सम्झौता भइसकेको छ। निगमले अस्ट्रेलिया, लण्डन तथा युरोपमा उडान गर्ने भन्दै पाँच वर्षअगाडि एयरबस ३३० जहाज खरिद गरेको थियो ।
सम्झौताअनुसार सातामा ७ उडान गर्न पाउने गरी सहमति भएको थियो । काठमाडौँबाट सिधा उड्न १५ घण्टा लाग्ने भएकाले निगमले सिंगापुरमा तेल भरेर अस्ट्रेलिया उड्ने प्रस्ताव गरेको हो। काठमाडौंबाट सिंगापुर हुँदै सिड्नी पुगेर फर्कंदा करीब २५ घण्टाको उडान हुने छ।
निगमले हाल चार जहाजमार्फत दिल्ली, बैंकक, क्वालालम्पुर, बैंग्लोर, हङकङ, दोहा, नारिता, दुवइ, मुम्बई, रियादमा उडान गर्दै आएको छ। निगमसँग दुई वटा ३३० र दुई वटा ३२० जहाज छन् ।
यसैबिच अस्ट्रेलिया स्थित नेपाली राजदूत कैलाश राज पोखरेलले शुक्रबार भएको संझौता अनुशार नेपाल एयरलाइन्सले अस्ट्रेलियाका निकायहरु संग प्राबिधिक प्रक्रिया शुरू गर्ने जनाएको सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।