प्रचण्ड नेतृत्वको सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

प्रचण्ड नेतृत्वको सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
नेपालआईज
१७ चैत २०७९ ११:५४

नेपाल । नेपाल सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

शपथ ग्रहण गर्नेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीका रूपमा सीता गुरुङ रहेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले पनि पद तथा गोपनियताको शपथ लिए । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रूपमा प्रकाश जवालाले शपथ लिए ।

जनता समाजवादी पार्टीका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा अशोक राईले पद तथा गोपनियताको शपथ लिए । लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा पद तथा गोपनियताको शपथ लिएकी छिन् । यसैगरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रूपमा शपथ लिएका छन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुखलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर