अस्ट्रेलियन पर्यटकको नेपालप्रति आकर्षण बढ्दै, एक महिनामै तीन हजार ६ सय ३५ जना आए

अस्ट्रेलियन पर्यटकको नेपालप्रति आकर्षण बढ्दै, एक महिनामै तीन हजार ६ सय ३५ जना आए
नेपालआईज
२० चैत २०७९ १०:४४

नेपाल । कोभिडपछि थला परेको नेपालको पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको छ । सन् २०२३ को जनवरी, फेब्रुअरी र मार्चमा विभिन्न देशबाट दुई लाख २७ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

गत मार्च महिनामा मात्रै करिब एक लाख पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा भारत, अमेरिका, अस्ट्रेलियासहित विभिन्न देशबाट हवाईमार्ग हुँदै ९९ हजार चार सय २६ पर्यटक भित्रिएका हुन् । कोभिडअघि सन् २०१९ को मार्च महिनासँग तुलना गर्दा पर्यटक आगमन ७८ प्रतिशत रिकभर भएको पर्यटन बोर्डले जनाएको छ ।

मार्च २०१९ मा एक लाख २७ हजार तीन सय ५१ पर्यटक नेपाल भ्रमणमा आएका थिए । महामारीपछि खस्किएको पर्यटक आगमन पछिल्ला महिनामा बढ्दै गइरहेको तथ्यांकले देखाउँछ । मार्च २०२० मा ४२ हजार सात सय ७६, मार्च २०२१ मा १५ हजार दुई सय ५४, मार्च २०२२ मा ४२ हजार ६ पर्यटक नेपाल भित्रिएका थिए ।

मार्च महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन् । अमेरिकाबाट एक महिनामा नौ हजार पाँच सय ५७ पर्यटक भित्रिएर दोस्रो ठूलो पर्यटन बजार बनेको छ । बेलायतबाट ६ हजार एक सय ३३ पर्यटक भित्रिएका छन् भने जर्मनीबाट चार हजार एक सय ४९ पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ ।

यस्तै, श्रीलंकाबाट तीन हजार आठ सय ९८, थाइल्यान्डबाट तीन हजार आठ सय २९, अस्ट्रेलियाबाट तीन हजार ६ सय ३५, फ्रान्सबाट तीन हजार नौ, चीनबाट दुई हजार ६ सय ३५, साउथ कोरियाबाट दुई हजार ६ सय ३९ पर्यटक भित्रिएका छन् ।

कोभिडपछि ठप्प भएको चिनियाँ पर्यटक आगमन पछिल्लो दुई–तीन महिनायता बढ्न थालेको देखिन्छ । क्षेत्रगत रूपमा मार्च महिनामा सार्क मुलुकबाट ३३ हजार चार सय ५४, अन्य एसियाली मुलुकबाट १५ हजार ६ सय ४३, युरोपेली मुलुकबाट २३ हजार दुई सय ६५, ओसियानाबाट तीन हजार नौ सय ५८, अमेरिका र क्यानडाबाट ११ हजार पाँच सय ५७, मध्यपूर्वी मुलुकबाट एक हजार चार सय ६७ र अन्य मुलुकबाट १० हजार तीन सय ७५ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर