नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध ठूल्ठूला एक्सन लिने तयारीमा रहेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपालको १९ औं साधारणसभा एवम् कृष्णसेन इच्छुकको २१ औँ स्मृति दिवसमा भएको कार्यक्रममा प्रधानमन्त्री दाहालले भ्रष्टाचारका अन्य प्रकरणमा पनि सरकारले एक्सन लिने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले जुन संकल्पका साथ जनयुद्धमा लागेको हो त्यही संकल्पका साथ अहिले भ्रष्टाचारविरुद्धको लडाइँमा लागेको पनि बताए । जनयुद्धताकाकै जस्तो भ्रष्टाचारविरुद्धको लडाईँमा पनि कतिबेला घेरामा परिने, मारिने र दुष्मनको घातप्रतिघातमा परिने हो भन्ने टुंगो नभएको उनले बताए ।
‘केही समयभित्रै अन्य ठूल्ठूला एक्सन हुनेछन्,’ उनले भने,’ त्यो एक्सनले पार्ने तरङ्ग पनि अहिलेको जस्तै ठूल्ठूलो हुनेछ।’
अहिले सरकार चलाउन चुनौतीपूर्ण अवसर भएको उल्लेख गर्दै उनले आफूहरूले गरेका कामका कारण जनतामा नयाँ आन्दोलन, अभियान र संस्कारको सुरुवात हुन खोजेको धारणा राखे ।
उनले भने, ‘जनयुद्धका बेलामा जुन संकल्पका साथ हाम्फालेको थियो । अहिले विकृति र भ्रष्टाचारविरूद्धको लडाइँमा म त्यही मानसिकताका साथ हामफालेको अनुभव हुँदैछ । जसरी जनयुद्ध सुरु गर्दा, लडाइँ सुरु गर्दा, हामीलाई को कति दिन बाँचिने हो, को कतिबेला मारिने हो भन्ने कुरा टुंगो छैन । तर पनि मृत्युवरण गरी हामफालेका थियौँ । अहिलेको यो लडाइँ त्यस्तै त्यस्तै छ । न्याय, सुशासन र समृद्धि नै हाम्रो मुख्य प्राथमिकता हो । यो पटक हाम्रो अगाडि चनौतीपूर्ण अवसर छ। अवसर पनि छ, चुनौती पनि छ । त्यही संकल्पका साथ हामीले काम गर्न सुरु गर्यौं । यहाँसम्म आउँदा जनतामा नयाँ आन्दोलनको, एउटा नयाँ अभियानको, नयाँ संस्कारको सुरुवात हुन खोजेको अनुभूत हुँदैछ ।’