इजरायलमा हमासले गरेको हमलामा १० नेपाली विद्यार्थीको निधन

इजरायलमा हमासले गरेको हमलामा  १० नेपाली विद्यार्थीको निधन
नेपालआईज
२२ असोज २०८० ७:३२

नेपाल । इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको निधन भएको छ ।

बीएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । एक विद्यार्थी अझै बेपत्ता छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आइतबार किबुज अलुमिम फार्ममा रहेका नेपाली विद्यार्थीको निधन भएको पुष्टि गरेकी छिन् ।

मृतकको शव स्वदेश लैजान तथा त्यहाँ रहेका नेपालीको उद्धारका लागि छलफल भइरहेको जानकारी दिइन् । नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई मृतक, घाइते र बेपत्ता भएका नेपालीको सूची पठाएको छ ।

परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्टको मृत्यु भएको छ । त्यस्तै, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा र सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारीको मृत्यु भएको छ ।

त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस– ६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रतिनिधिसभामा इजरायलको घटनाबारे जानकारी दिने क्रममा केही नेपाली हताहती भएको बताए पनि विस्तृत खुलाएका थिएनन् । परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई घटनाको पुनः पुष्टि गर्न निर्देशन दिएको छ । सल्यानको त्रिवेणी गाउँपालिका– १ का प्रमोद केसी र कैलालीको भजनी–त्रिशक्ति नगरपालिका– ४ का वीरेन्द्र चौधरीलाई उद्धार गरेर राजधानी तेलअभिभतर्फ पठाइएको छ ।

अर्को सहरमा रहेका, तर सुदूरपश्चिम विश्वविद्यालयको त्यही समूहमा इजरायल गएका कञ्चनपुरका भीमदत्त नगरपालिका– ३ का विपिन जोशी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । ग्रिनेडको छर्रा लागेका चार विद्यार्थी भने अस्पतालमा उपचाररत छन् ।

शारदा– २ सल्यानका विधान सेजवाल, दाङको दंगीशरण गाउँपालिका– ३ का रविन डाँगी, कैलालीको टीकापुर नगरपालिका– ९ का धनबहादुर चौधरी र गोरखाको गोरखा नगरपालिका– ८ का हिमाञ्चल कट्टेलको अस्पतालमा उपचार चलिरहेको छ । उनीहरू चारैजनालाई सोमबार उद्धार गरेर राजधानी तेलअभिभ ल्याउने तयारी भइरहेको छ ।

उनीहरूसहित सुदूरपश्चिम विश्वविद्यालयका ४९ जनाको समूह २७ भदौमा नेपालबाट इजरायल गएको थियो । नेपाल र इजरायलबीच भएको सम्झौताअनुसार उनीहरू कृषि कार्यका लागि गएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर