गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु

गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु
नेपालआईज
१ कार्तिक २०८० ७:२७

नेपाल । गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरिएको छ। मंगलबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले गैरआवासीय नेपालीलाई ‘गैरआवासीय नागरिकता’ प्रदान गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै नागरिकता वितरणको सुरु गरेका छन् ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

गैरआवासीय नेपाली नागरिकता पाउने मापदण्ड

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।

एनआरएन नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न पनि पाउँछन् ।

यदि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्थासमेत ऐनमा छ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको र विदेशी नागरिकता प्राप्त गरेको प्रमाणसहित कागजात पेश गर्नुपर्ने व्यवस्था छ ।

सम्बन्धित जिल्लामै गएर वडाको सिफारिससहित नेपाली नागरिकले नेपालको नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको प्रमाणसहित आवश्यक कागजात पेश गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर