आप्रवासी पुर्खाको सन्तानलाई अस्ट्रेलियामा राज्यको प्रिमियर हुन ६५ वर्ष लाग्यो भने नेपालीहरू कहिले पुग्ने?

आप्रवासी पुर्खाको सन्तानलाई अस्ट्रेलियामा राज्यको प्रिमियर हुन ६५ वर्ष लाग्यो भने नेपालीहरू कहिले पुग्ने?
नेपालआईज
२४ चैत २०८१ ९:५९


अस्ट्रेलियामा आप्रवासी र बहुसांस्कृतिक समुदायको ठूलो योगदान छ। सन् १९६० मा इटलीबाट अस्ट्रेलिया आएका पुर्खाका सन्तान अस्ट्रेलियाको मूलप्रवाहको राजनीतिमा प्रवेश गरे र राज्यको प्रिमियर बन्न दशकौं लाग्यो , के नेपालीहरुलाई अस्ट्रेलियाको कुनै राज्यको प्रिमियर र प्रमुख तहमा पुग्न कति वर्ष लाग्ला?

नेपालीहरूको इतिहास अस्ट्रेलियामा धेरै लामो छैन। तर पछिल्लो समय, अस्ट्रेलिया अध्ययनका लागि आएका नेपाली समुदायका युवाहरू यहाँको स्थानीय राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्दैछन्। हाम्रो अस्ट्रेलियामा आप्रवासन युरोपियनहरूको जस्तो छैन। युरोप र इटालीबाट अस्ट्रेलिया आप्रवासन भएका व्यक्तिहरूले जति संघर्ष गर्नुपर्यो, त्यति नेपालीहरूले गर्नु परेको छैन।

नेपाल फेस्टिभल, ब्रिस्बेनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गरेका क्वीन्सल्याण्डका प्रिमियर डेविड क्रिसाफुल्लीले विशाल फेस्टिवलमा सहभागी नेपालीहरूको बीचमा आफ्नो पुर्खा र इतिहास यसरी सुनाए: “आजभन्दा ६५ वर्षअघि मेरा पुर्खाहरू यो भूमीमा आएका थिए। जतिबेला उनीहरूले कडा मेहनत र परिश्रम गरे। त्यसको परिणामस्वरूप, आज म क्वीन्सल्याण्डको प्रिमियर बनेको छु।” उनले भने, “आप्रवासी पृष्ठभूमि भएका प्रिमियरहरूले सधैं आप्रवासीहरूको सम्मान र माया गर्छन्।”

नेपाली ढाका टोपीमा सम्बोधन गर्दै, उनले नेपालीहरूको खुलेर प्रशंसा गरे। क्वीन्सल्याण्डमा नेपालीहरूको इतिहास लामो छैन, तर छोटो समयमा नेपाली समुदायले गर्व गर्ने काम गरेको भन्दै उनले प्रशंसा गरे। उनका शब्दहरूमा उपस्थितहरूले ताली पिटेका थिए।

उनको सम्बोधनले अस्ट्रेलियामा रहेका नेपालीहरूको मनमा एक प्रश्न उठाएको छ – एक आप्रवासी सन्तानलाई अस्ट्रेलियाको प्रमुख तहमा पुग्न बन्न दशकौं समय लाग्यो भने हामीलाई यो देशको नेतृत्व तहमा पुग्न कति वर्ष कुर्नु पर्ला?

डेविड क्रिसाफुल्ली, जो इंगम, क्वीन्सल्याण्डमा जन्मिएका छन्, इटालियन आप्रवासीहरूको पुत्र हुन्, जसका पूर्खाहरू 1960 को दशकको सुरूवातमा अस्ट्रेलिया आएका थिए। उनका हजुरबुवा, फ्रांसेस्को, 1960 मा अस्ट्रेलिया आएका र उत्तर क्वीन्सल्याण्डमा सफल फार्मिङ व्यवसाय स्थापना गरेका थिए। क्रिसाफुल्लीको यो फार्ममा हुर्किएको वातावरणले उनलाई कडा परिश्रम र समर्पणका मूल्यहरूमा आधारित बनाएको छ, जसले उनका राजनीतिक करियरमा ठूलो प्रभाव पारेको छ।

उनका करियरको क्रममा, क्रिसाफुल्लीले आफ्नो आप्रवासी पृष्ठभूमिप्रति गर्व व्यक्त गरेका छन् र प्रायः आफ्नो परिवारको यात्रा र क्वीन्सल्याण्डको बहुसांस्कृतिक समुदायमा तिनीहरूको योगदानलाई प्राथमिकता दिएका छन्। उदाहरणस्वरूप, उनले सामाजिक मिडियामा भनेका थिए: “म सधैं आप्रवासीहरूको छोरा भएर गर्व गर्नेछु। मेरो नोनोले इटाली छोडेर 1960 मा एउटा टाढा देशमा अवसर लिन अस्ट्रेलिया आए।”

यी व्यक्तिगत अनुभवहरूले उनलाई क्वीन्सल्याण्डका प्रमुखका रूपमा नेतृत्व शैली र नीति दृष्टिकोणलाई आकार दिएका छन्, जसले राज्यमा एकता र बहुसांस्कृतिकताका महत्त्वलाई जोड दिएको छ।

उनको सम्बोधनले अस्ट्रेलियामा रहेका नेपालीहरूमा ऊर्जा थपेको छ। यहाँका नागरिक नेपाली अस्ट्रेलियालीहरूले घरेलु राजनीतिको चिन्ता लिनुभन्दा, यहाँ जन्मे हुर्केका आफ्ना सन्तानको अधिकार र संरक्षणका लागि अस्ट्रेलियाको राजनीतिमा घुलमिल हुँदै देश र राज्यको नेतृत्व लिन अग्रसर हुनुपर्छ। किनकि नेपालीहरूले त्यो हैसियत अस्ट्रेलियामा बनाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर