अस्ट्रेलियामा विपद् तयारीसम्बन्धी ‘गेट रेडी’ सामग्री अब नेपाली भाषामा पनि उपलब्ध

अस्ट्रेलियामा विपद् तयारीसम्बन्धी ‘गेट रेडी’ सामग्री अब नेपाली भाषामा पनि उपलब्ध
नेपालआईज
२२ भदौ २०८३ ०:४१

मेलबर्न / अस्ट्रेलियामा बसोबास गर्ने नेपालीसहित बहुसांस्कृतिक समुदायलाई प्राकृतिक विपद्को सामना गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘गेट रेडी’ विपद् तयारीसम्बन्धी सामग्री १० वटा भाषामा सार्वजनिक गरिएको छ।

अल्बानेजी सरकारले वित्तीय सहयोग उपलब्ध गराएको यस परियोजनाअन्तर्गत डढेलो, बाढी, चक्रवात, आँधीबेहरी, अत्यधिक गर्मी, भूकम्प र सुनामीजस्ता सात प्रमुख प्राकृतिक जोखिमसम्बन्धी व्यावहारिक जानकारी समेटिएको छ।

भिडियो, तथ्यपत्र, पोस्टर तथा डिजिटल सामग्रीहरू नेपालीसँगै अरबी, क्यान्टोनिज, दारी, कोरियन, म्यान्डरिन, पञ्जाबी, स्पेनिस, थाई र भियतनामी भाषामा अनुवाद गरिएका छन्। कम साक्षरता भएका व्यक्तिलाई लक्षित गरी सामग्रीहरू ‘ईजी रिड’ ढाँचामा पनि उपलब्ध गराइएको छ।

‘डिसास्टर रिस्क रिडक्सन प्याकेज’मार्फत वित्तपोषण गरिएको परियोजनाको नेतृत्व ‘गेट रेडी क्विन्सल्याण्ड’ले गरेको हो। परियोजना निर्माणका क्रममा देशभर १६ वटा प्रत्यक्ष कार्यशाला सञ्चालन गरी १५५ जना मातृभाषी समुदायका सदस्य तथा समुदाय, सरकार र विपद् व्यवस्थापन क्षेत्रका प्रतिनिधिबाट सुझाव सङ्कलन गरिएको थियो।

संघीय आपत्कालीन व्यवस्थापन मन्त्री क्रिस्टी म्याकबेनले विपद्अघि तयारी गरेका मानिस र समुदाय संकटपछि छिटो सामान्य अवस्थामा फर्कन सक्ने बताएकी छन्।

उनले भाषिक अवरोध हटाउनु विपद् जोखिमबारे सचेतना बढाउन र आपत्कालीन अवस्थामा मानिसलाई सुरक्षित राख्न महत्त्वपूर्ण कदम भएको उल्लेख गरिन्।

“यी सामग्रीहरू धेरैभन्दा धेरै अस्ट्रेलियालीले विपद् जोखिमसम्बन्धी व्यावहारिक जानकारी बुझ्न, साझा गर्न र त्यसअनुसार काम गर्न सकून् भन्ने उद्देश्यले तयार गरिएका हुन्,” मन्त्री म्याकबेनले भनिन्।

बहुसांस्कृतिक मामिला मन्त्री डा. एन अलीले घरमा जुनसुकै भाषा बोलिए पनि आपत्कालीन अवस्थाको तयारी र प्रतिकार्यसम्बन्धी जानकारीमा सबैको समान पहुँच हुनुपर्ने बताइन्।

उनले समुदायका सदस्यलाई यी सामग्री आफ्ना परिवार, साथीभाइ तथा सामुदायिक संस्थामा साझा गर्न आग्रह गरेकी छन्।

क्विन्सल्याण्डकी विपद् पुनरुत्थान मन्त्री एन लेहीले ‘गेट रेडी क्विन्सल्याण्ड’ले सन् २०१३ देखि भीषण मौसमी घटनाको सामना गर्न समुदायलाई तयार पार्दै आएको अनुभव अब अस्ट्रेलियाभर विस्तार गर्न लागिएको बताइन्।

आगामी उच्च जोखिमयुक्त मौसमी सिजनअघि सार्वजनिक गरिएका यी सामग्रीले विपद्को जोखिम बुझ्न, पूर्वतयारी गर्न र संकटका बेला सार्वजनिक सुरक्षा सुधार गर्न सहयोग पुग्ने सरकारको विश्वास छ।

अल्बानेजी सरकारले ‘डिसास्टर रेडी फण्ड’को तेस्रो चरणमार्फत राष्ट्रिय ‘गेट रेडी’ कार्यक्रमका लागि ८ मिलियन अस्ट्रेलियन डलरभन्दा बढी रकम उपलब्ध गराउने घोषणा पनि गरेको छ। यस रकमबाट अस्ट्रेलियाका विभिन्न क्षेत्रलाई स्थानीय आवश्यकताअनुसार विपद् तयारी अभियान सञ्चालन गर्न सहयोग गरिनेछ।

नेपाली भाषासहितका सामग्री getready.gov.au/languages मा उपलब्ध छन्।

विपद्मा के गर्ने ? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको