मेलबर्न / भिक्टोरियाकी पूर्व प्रिमियर ज्यासिन्टा एलनले बेन्डिगोस्थित ‘द ग्रेट स्तूप अफ युनिभर्सल कम्प्यासन’ अस्ट्रेलियाकै सबैभन्दा ठूलो बौद्ध स्तूप रहेको उल्लेख गरेकी छन्।
हालै स्तूपको भ्रमण गरेकी एलनले बोधिधम्म विहारको टोलीसँग भेटघाट गरी यस ऐतिहासिक स्थलको भावी योजनाबारे छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्।
उनका अनुसार स्तूप परिसरमा रहेको बोधिवृक्षको सम्बन्ध २,३०० वर्षभन्दा अघिको बुद्धकालीन मूल बोधिवृक्षसँग प्रत्यक्ष रूपमा जोडिन्छ। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको यो स्थल भिक्टोरियाको प्रमुख बौद्ध तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित छ।
एलनले बोधिधम्म विहारको टोलीसँग भेट्न पाउँदा खुसी लागेको उल्लेख गर्दै यस महत्त्वपूर्ण स्थलका लागि अघि सारिएका योजनाबारे छलफल भएको बताएकी छन्।
उनले लेबर पार्टीले भिक्टोरियाका सुन्दर, जीवन्त र बहुसांस्कृतिक समुदायलाई सधैँ समर्थन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।