क्यानबेरा — अष्ट्रेलियाको राजधानी क्यानबेरामा कार्यरत होम केयर नर्स तथा स्वास्थ्यकर्मीहरू फील्डमा जाँदा ज्यानै जाने खालका जोखिम खेप्न बाध्य भएको एक अनुसन्धानबाट खुलेको छ। यस घटनाले नेपाली नर्सलगायत धेरै स्वास्थ्यकर्मीहरू त्रसित भएका छन्।
हालै गरिएको एक अनुसन्धानले क्यानबेरा हेल्थ सर्भिसेस (CHS) अन्तर्गत घरमै सेवा दिन जाने नर्स तथा स्वास्थ्यकर्मीहरू गम्भीर हिंसा र ज्यान जोखिममा परेको पुष्टि गरेको हो। वर्कसेफ ACT को अनुसन्धान मार्च महिनामा भएका चार हिंसात्मक घटनापछि सुरु गरिएको थियो।
अनुसन्धान अनुसार, ती कर्मचारीहरूलाई शारीरिक तथा मानसिक रूपमा क्षति पुग्ने, र ज्यानै जाने खालका जोखिमयुक्त स्थितिमा पठाइएको थियो।
वर्कसेफ ACT ले त्यसपछि CHS लाई ६ वटा सुधार निर्देशन (Improvement Notice) र १ वटा प्रतिबन्ध आदेश (Prohibition Notice) जारी गरेको छ। कमजोर जोखिम मूल्याङ्कन प्रणाली र असुरक्षित अलार्म उपकरणलाई प्रमुख कमजोरीका रूपमा औँल्याइएको छ।
स्वास्थ्य क्षेत्रका युनियनहरूले विगत दुई वर्षदेखि घरमै सेवा दिने क्रममा कर्मचारीहरूलाई हतियारधारी व्यक्तिहरूसँग सामना गर्नुपर्ने खतराबारे बारम्बार चेतावनी दिँदै आएका थिए। ACT को कम्युनिटी एण्ड पब्लिक सेक्टर युनियन (CPSU) की क्षेत्रीय सचिव म्याडी नर्थामका अनुसार, नर्स तथा स्वास्थ्यकर्मीहरूले छुरा, खुकुरी र बन्दुकसम्मको सामना गर्नु परेको रिपोर्टहरू आएका छन्।
“अब मात्र वर्कसेफको अभूतपूर्व कदमपछि CHS हरकतमा आएको देखिएको छ,” उनले भनिन्, “हाम्रा सदस्यहरू यस्ता समस्याको धेरै समयदेखि सामना गर्दै आएका थिए।”
यसपछि CHS ले जोखिम मूल्याङ्कन उपकरणको सुधार, घरमै सेवा दिने कर्मचारीहरूका लागि अनिवार्य तालिम, आपतकालीन डिभाइस तथा लोकेशन ट्र्याकिङ प्रणालीको प्रयोग अनिवार्यजस्ता सुधारहरू लागू गरेको छ।
यी सुधारपछि वर्कसेफले आफ्नो नोटिस हटाए पनि, धेरै स्वास्थ्यकर्मी अझै सन्तुष्ट छैनन्। अष्ट्रेलियन नर्सिङ एण्ड मिडवाइफरी फेडेरेसन (ANMF) की ACT शाखा सचिव कार्लिन फिडोले भनिन्, “वर्षौंदेखि हाम्रा सदस्यहरूले सुरक्षा सम्बन्धी गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन्। अब आएर माफी माग्नु मात्र पर्याप्त छैन, व्यावहारिक सुधार तुरुन्त आवश्यक छ।”
सन २०२४ को १२ महिनामा जम्मा ५० घर भ्रमण भएका थिए जसमा ६ वटा आक्रमण र ४३ वटा हिंसाका घटनाहरू भएको रिपोर्टमा उल्लेख छ ।