मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आगामी कार्यकालका लागि सदस्यता लिनुपर्ने अन्तिम म्याद थप गरेको छ।
संघद्वारा जारी सूचनाअनुसार, नयाँ सदस्यता लिन वा पुरानो सदस्यता नवीकरण गर्न इच्छुकहरूले अब १५ जुन २०२५, शनिबार राति ११:५९ बजेसम्म आवेदन दिन सक्नेछन्।
एनआरएनए अष्ट्रेलियाले हालसम्म सदस्यता नविकरण वा नयाँ आवेदन दिइसकेका ५ हजार भन्दा बढी सदस्यहरूप्रति हार्दिक आभार प्रकट गर्दै आगामी योजनाका लागि एकताको आवश्यकतालाई बल दिँदै सम्पूर्ण नेपाली समुदायलाई आव्हान गरेको छ।
संघका अध्यक्ष अनिल पोखरेलले जारी गरेको औपचारिक अपिलमा भनिएको छ, “हामीले अघिल्लो कार्यकालमा १५ हजार भन्दा बढी सदस्यता संकलन गर्न सफल भयौं, जसले एनआरएनए अष्ट्रेलियालाई विश्वको सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद् बनाएको थियो। यो संख्या केवल तथ्य होइन, यसले संस्थालाई विश्वसनीयता, सरकारसँगको प्रभावकारी सम्वाद, र वित्तीय लचिलोपन प्रदान गर्यो।”
विगतको कार्यकालमा एनआरएनए अष्ट्रेलियाले न्यू साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्याण्ड राज्यहरूमा आयोजना गरिएको नेपाल फेस्टिभलजस्ता कार्यक्रमहरूमा प्रधानमन्त्रीदेखि उच्चस्तरीय नेताहरूको सहभागिता सुनिश्चित गराएको थियो। यस्तो प्रभावकारी उपस्थिति सदस्यहरूको संख्याले मात्र सम्भव भएको संस्थाको ठहर छ।
एकीकृत एनआरएनए अष्ट्रेलियाको महत्व
अघिल्लो दुई दशकमा एनआरएनए अष्ट्रेलिया केवल प्रवासी संस्था मात्र नभई अष्ट्रेलियाली सरकार, नीति निर्माताहरू र बहुसांस्कृतिक समूदायमा मान्यता प्राप्त संस्थामा रूपान्तरण भएको उल्लेख गर्दै संस्थाले भन्यो,
- एनआरएनए अष्ट्रेलियाको आवाज संसदसम्म सुनिएको छ,
- बहुसांस्कृतिक सम्मानमा साझेदारी भएको छ,
- लाखौँ डलरका सरकारी अनुदान प्राप्त गरी परियोजनाहरू सञ्चालन गर्न सक्षम बनाइएको छ।
तर पछिल्लो समय केही व्यक्तिहरूले अन्तर्राष्ट्रियस्तरको विवादलाई स्थानीय स्तरमा झार्दै संस्थामा विभाजन ल्याउने प्रयास गर्नु दुःखद् रहेको उल्लेख गरिएको छ। “विभाजनले सिंगो समुदायलाई क्षति पु¥याउँछ। असहमति र बहस लोकतान्त्रिक प्रक्रियाको हिस्सा हुन् तर समुदायलाई फुटाउने प्रयास गैरजिम्मेवार व्यवहार हो,” विज्ञप्तिमा भनिएको छ।
समुदायलाई तीन प्रमुख आग्रह
✅ भ्रममा नपर्नुहोस्,
✅ संस्थाको दीर्घकालीन मूल्य र हितमा केन्द्रित रहनुहोस्,
✅ एनआरएनए अष्ट्रेलियालाई सशक्त र एकीकृत राख्न सहयोग गर्नुहोस्।
एनआरएनए अष्ट्रेलियाको चुनाव यही जुलाई २६ तारिखमा हुँदै छ ।