Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
अमेरिका बस्दा परमेशले नजिकैबाट हेरे बी–२ बमबर्षक विमान! अहिले जो विश्वमा चर्चा छ!
नेपालआईज
९ असार २०८२ १:५१
नेपाल |इरानको आणविक केन्द्रमा अमेरिकाले हालै गरेको आक्रमणमा प्रयोग भएको बी–२ स्पिरिट स्टिल्थ बमबर्षक विमान अहिले विश्वभरि चर्चाको केन्द्र बनेको छ। यसै सन्दर्भमा प्रमेश केसीले अमेरिकामा बस्दाको अनुभव सामाजिक सञ्जालमा साझा गर्दै भनेका छन्, “बजारमा अहिले चर्चा चुलिएको हो, मैले त नजिकैबाट नै देखिसकेको थिएँ यो चमत्कारी बमबर्षक विमान!”
बेल्भ्युस्थित अफ्फुट एयरफोर्स बेस मा प्रमेशले बी–२ बमबर्षक विमानको प्रत्यक्ष अवलोकन गर्ने दुर्लभ मौका पाएका थिए। उनले लेखेका छन्, “त्यो क्षण मेरो लागि कहिल्यै नबिर्सने सम्झना बन्यो।” विमानका एक पाइलटले प्रमेशलाई विमानको अद्वितीय स्टिल्थ क्षमता, रेडारबाट लुकेर उड्ने प्रविधि, र GBU-57 ‘बंकर बस्टर’ बम बोक्ने क्षमताबारे विस्तृत जानकारी दिएका थिए।
प्रमेश थप लेख्छन्, “विमानको आकृति हेर्दा मलाई संसारकै सबैभन्दा छिटो चरी ‘पेरेग्रीन फाल्कन’ को सम्झना आयो। तर बी–२ स्पिरिट त अझै चमत्कारी—१०५० किमी प्रतिघण्टाको गतिमा, त्यो पनि पूर्ण स्टिल्थ मोडमा उड्न सक्छ।”
स्मरणस्वरूप, पाइलटले उनलाई नेभिगेसन रिस्ट वाच उपहार दिएका थिए भन्ने रमाइलो प्रसंग पनि उनले उल्लेख गरेका छन्। “प्रकृतिको अद्भुत जीव र मान्छेले बनाएको प्रविधिबीचको यो तुलना गर्दा दुवै चमत्कारी लाग्छ,” परमेशको कथन छ।
उनी थप्छन;”यो सन् १९९५ जुलाई ४ मा भएको थियो, जब पहिलोपटक अमेरिकी सरकारले बी–२ विमानलाई सार्वजनिक रूपमा देखाएको थियो। उक्त विमानलाई मिसौरीस्थित व्हाइटम्यान एयरफोर्स बेसबाट नेब्रास्काको बेल्भ्युमा रहेको अफ्फुट एयरफोर्स बेस ल्याइएको थियो।
बेल्भ्युस्थित अफ्फुट एयरफोर्स बेस अमेरिकाको सबैभन्दा सुरक्षित स्थल मानिन्छ, जहाँ संयुक्त राज्य अमेरिका (US) का राष्ट्रपति आपतकालीन अवस्थामा सुरक्षित राखिन्छन्। हामीलाई २००१ मा वर्ल्ड ट्रेड सेन्टर (ट्विन टावर) माथि आक्रमण भएको दिन सम्झना छ—त्यसबेला अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुसलाई यही एयरफोर्स बेसमा लगिएको थियो। त्यसपछि पहिलोपटक राष्ट्रपति बुसले सार्वजनिक रूपमा भनेका थिए:“म अहिले पृथ्वीको सबैभन्दा सुरक्षित स्थानमा छु।” त्यहाँ भूमिगत विमानस्थल (Underground Airport) पनि हुन सक्ने अनुमान गरिएको छ।
आजको सन्दर्भमा, इरानमाथिको आक्रमणमा त्यही बी–२ विमानले पहिलोपटक GBU-57 बंकर बस्टर बम प्रयोग गरेको रिपोर्ट आएको छ। यस्तो क्षमतायुक्त विमानलाई नजिकबाट देख्ने दुर्लभ अनुभवले अहिले प्रमेश केसीलाई सामाजिक सञ्जालमा चर्चित बनाइरहेको छ।
को हुन् परमेश केसी?
प्रमेश केसी एक दक्ष, अनुभवी र बहुआयामिक शैक्षिक पृष्ठभूमि भएका बौद्धिक व्यक्तित्व हुन्, जसले व्यवस्थापन, सूचना प्रविधि तथा वित्तीय क्षेत्रमा उल्लेखनीय दक्षता हासिल गरेका छन्। उनले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित Bellevue University बाट Master of Arts in Management अध्ययन गरेका हुन्, जहाँ उनले नेतृत्व विकास, संगठनात्मक सुधार तथा रणनीतिक व्यवस्थापनमा विशेषज्ञता प्राप्त गरेका थिए।
यसअघि उनले सोही विश्वविद्यालयबाट Computer Information Systems मा अध्ययन सम्पन्न गरेका थिए। सन् १९९८ मा अमेरिकाको उच्च शैक्षिक सम्मान “Who’s Who Among Students in American Colleges and Universities” मा नाम समावेश हुनु उनको शैक्षिक उत्कृष्टताको प्रमाण हो।
नेपालमा रहँदा प्रमेश केसीले त्रिभुवन विश्वविद्यालयबाट MBA in Finance (सन् १९९३) मा स्नातकोत्तर तह पूरा गरेका थिए, जहाँ उनले लेखा, वित्तीय योजना, लगानी व्यवस्थापन तथा व्यापार प्रशासनमा बलियो आधार तयार गरेका थिए। उनको प्रारम्भिक शिक्षा भोजपुरस्थित बिद्ध्योदय उच्च माविबाट (१९७९–१९८०) सम्पन्न भएको हो।
नेपाल र अमेरिकाको विविध शैक्षिक तथा पेशागत अनुभवको संगमले प्रमेश केसीलाई अन्तर्राष्ट्रिय दृष्टिकोणसहित रणनीतिक सोच राख्ने, नवप्रवर्तन गर्न सक्ने, र प्रभावकारी व्यवस्थापनमा निपूर्ण एक सशक्त व्यावसायिक नेतृत्वकर्ताका रूपमा स्थापित गरेको छ।