एनआरएनए पश्चिम अष्ट्रेलियाको नेतृत्वमा हरिवंश सन्जेलको चुनावी मैदानमा इन्ट्री!

एनआरएनए पश्चिम अष्ट्रेलियाको नेतृत्वमा हरिवंश सन्जेलको चुनावी मैदानमा इन्ट्री!
पर्थ
१८ असार २०८२ ३:४४

 

 अष्ट्रेलिया  | गैर-आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई २६ मा हुने निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू औपचारिक रूपमा खुल्दै गर्दा पश्चिम अष्ट्रेलियाको संयोजक पदमा हरिवंश सन्जेल ‘सुमन’ सन्तोष कुँवर नेतृत्वको टिमबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

सन्तोष कुँवरले केही दिनअघि अध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी सार्वजनिक गरेसँगै, उनको प्यानलका अन्य पदाधिकारीहरू पनि खुल्न थालेका छन्। यसै क्रममा सन्जेलले आफु कुँवरको टिमको अभिन्न हिस्सा भएको र पश्चिम अष्ट्रेलियामा सामुदायिक एकता र समृद्धिका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका हुन्। 

‘समुदायको सेवा गर्न सिकेका अनुभव प्रयोग गर्ने’

यसअघि एनआरएनए पश्चिम अष्ट्रेलियामा युवा सदस्य (२०२१–२३) र राज्य कोषाध्यक्ष (२०२३–२५) को भूमिकामा रहेर सेवा गरिसकेका सन्जेलले आफूलाई प्राप्त अनुभव र समुदायको माया नै संयोजक पदमा अघि बढाउने प्रेरणा बनेको बताएका छन्।

उनका मुख्य एजेन्डामा खेलकुदमार्फत सामुदायिक एकता, नेपाली भाषा-संस्कृति संरक्षण, महिला तथा युवा सशक्तीकरण, व्यवसायिक प्रवर्द्धन, पर्थ मन्दिर निर्माण अभियानको समर्थन, सामाजिक आपतकालीन सहयोग संयन्त्र, तथा नवआगन्तुक विद्यार्थी सहायता जस्ता विषयहरू रहेका छन्।

एनआरएनए पश्चिम अष्ट्रेलियामा २४ सय भन्दा बढी सदस्यता प्राप्त भइसकेको जनाउँदै सन्जेलले यो सहभागिता समुदायको एकता र सक्रियता प्रतीक भएको उल्लेख गरेका छन्।

“समुदायको साझा चौतारीलाई थप सशक्त बनाउन तपाईंहरूको साथ, मत र सुझावको आवश्यकता छ,” भन्दै सन्जेलले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न अपिल गरेका छन्।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन अभियानमा उम्मेदवारहरूको परिचय खुल्दै जाँदा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। अर्का अध्यक्षीय आकांक्षी संजीव गोर्खाली ढकालले पनि अष्ट्रेलियाभर प्यानल गठन गरी चुनावी तयारी गरिरहेको जनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर