पूर्व नवयुवराज हृदयेन्द्रको कर्णाली भ्लग, गणतन्त्रले घटाएको दूरी

पूर्व नवयुवराज हृदयेन्द्रको कर्णाली भ्लग, गणतन्त्रले घटाएको दूरी
छत्र शंकर
१७ साउन २०८२ ११:३५

नेपालमा गणतन्त्र स्थापनापछि एउटा बहस सधैँ चलिरहन्छ, “गणतन्त्रले के दियो?” केहीले यसलाई परिवर्तन विहीनताको प्रतीक ठान्छन् भने केहीले राजतन्त्र फर्काउने कुरा पनि गर्छन्। तर यी सबै तर्कका बिचमा गणतन्त्रको एउटा सबैभन्दा ठुलो र महत्त्वपूर्ण देनलाई हामीले प्रायः बिर्सन्छौँ: दरबार र जनताबिचको सामाजिक र मानसिक दूरीको अन्त्य।

हिजोका दिनमा दरबारका मानिसहरूलाई ‘प्रजा’ सँग भेटघाट गर्न, उनीहरूको दुःख बुझ्न र उनीहरूसँग घुलमिल हुन सम्भव थिएन। दरबारभित्र हुर्किएकाहरूलाई सामान्य मानिसको जीवनशैलीको कल्पना गर्न पनि कठिन थियो। तर आज, गणतन्त्रले ल्याएको परिवर्तन यति गहिरो छ कि दरबारका पूर्व सदस्यहरू नै गाउँ–गाउँमा पुगेर सर्वसाधारणसँग हात मिलाइरहेका छन्। उनीहरूले आफूलाई ‘अदृश्य’ पर्दाभित्रबाट बाहिर ल्याएका छन्।

काठमाडौँदेखि कर्णालीको स्याउ बारीमा

यसको ताजा उदाहरण हो पूर्व राजपरिवारका नाति हृदयेन्द्र शाह। कर्णालीको यात्रामा उनले बनाएको भ्लगले अहिले विश्वभरका नेपालीको मन जितेको छ। उनको शालीन प्रस्तुति र मिजासिलो व्यवहारको सबैतिर प्रशंसा भइरहेको छ। यदि आज नेपालमा राजतन्त्र कायम भएको भए, सम्भवतः उनी दरबारको पर्खालभित्रै सीमित हुन्थे र कर्णालीका सर्वसाधारणसँग उनको भेट हुनु असम्भव प्रायः हुन्थ्यो। उनीहरूले ठाडो शिर लगाएर उनीसँग कुरा गर्न सक्ने अवस्था नै हुँदैनथ्यो। हृदयेन्द्रको यो भ्रमण केवल एक यात्रा होइन, यो गणतन्त्रले दिएको समानताको अनुभूति को एक सशक्त उदाहरण हो।

यस्तै पूर्व युवराज्ञी हिमानी शाहको जुम्लाको दुर्गम गाउँको भ्रमणले पनि यो कुरालाई प्रमाणित गर्छ। जहाँ दरबारका सदस्यहरू कहिल्यै पुग्दैनथे, त्यहीँ आज उनीहरू जनजीवन बुझ्न, संवाद गर्न र सर्वसाधारणसँग समय बिताउन पुगेका छन्। यो परिवर्तन कुनै व्यक्तिगत चाहनाको परिणाम मात्र होइन, यो राजनीतिक रूपान्तरणले सिर्जना गरेको नयाँ सामाजिक परिवेश हो।

 दरबारको पर्खाल भत्कियो
पूर्व युवराज पारस शाहको जीवनशैलीमा आएको बदलाव पनि गणतन्त्रकै देन हो। काठमाडौँको सडकमा बाइक चलाउँदै गरेको वा चिया पसलमा बसेर गफ गरेको उनको तस्बिरले राजपरिवार अब जनताबाट टाढा छैन भन्ने सन्देश दिन्छ। पूर्व राजा ज्ञानेन्द्र शाह पनि अहिले सामान्य नागरिकजस्तै विभिन्न स्थानमा देखिन्छन्, जहाँ जनताले उनीसँग प्रश्न गर्न सक्छन्, गुनासो पोख्न सक्छन् र फोटो खिच्न सक्छन्।
राजतन्त्रमा शासकहरू आलोचना र संवादभन्दा पर थिए, तर गणतन्त्रले सत्ताको संरचना मात्र होइन, सोचको संरचना पनि बदलेको छ। अब कोही पनि प्रश्नभन्दा पर छैन। शासक जनतासँग जोडिनुपर्छ, उनीहरूको नजरमा पर्नुपर्छ र जबाफदेही हुनुपर्छ।

सामाजिक दूरीको अन्त्य
हो, गणतन्त्रले भौतिक विकास, रोजगारी वा भ्रष्टाचारको समस्या तत्कालै समाधान गर्न सकेको छैन। तर यसले सत्ताको पहुँच जनतासम्म ल्याएको छ र शासकलाई ‘मानवीय’ बनाएको छ। राजतन्त्रको प्रतीक मानिने दरबारका सदस्यहरूले नै यो बदलिँदो अवस्थालाई स्वीकार गरिरहेका छन्।

जब कर्णालीका स्याउ बारीमा पूर्व राजपरिवारका सदस्यहरू पुग्छन्, तब त्यो केवल एउटा सामान्य भ्रमण मात्र हुँदैन। त्यो परिवर्तनको एउटा बलियो सङ्केत हुन्छ। गणतन्त्रले केवल शासनको स्वरूप बदलेन, उसले दरबार र गाउँको, शासक र जनताको, विशेषाधिकार र अधिकार विहीनताको सामाजिक दूरी घटाउने काम पनि गर्‍यो।

भ्लग यहाँ हेर्नुहोस । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर