क्यानबेरा — अस्ट्रेलियाका सहायक विदेश तथा अध्यागमनमन्त्री म्याट थिसलथ्वेटले नेपालको बाढी प्रभावित रसुवा क्षेत्रमा रहेका कम्तीमा ३५ अस्ट्रेलियाली नागरिकको अवस्था यकिन गर्न विदेश मामिला तथा व्यापार विभागका कर्मचारी चौबीसै घण्टा खटिएको बताएका छन्।
बिहीबार एबीसीको ‘सेभेन थर्टी’ कार्यक्रममा प्रस्तोता सारा फर्गुसनसँगको अन्तर्वार्तामा उनले नेपालमा उद्धार, पुनःस्थापना तथा मानवीय सहायता उपलब्ध गराउन अस्ट्रेलिया तयार रहेको जानकारी दिए।
सारा फर्गुसन: नेपालबाट प्राप्त पछिल्लो जानकारी के छ?
म्याट थिसलथ्वेट: नेपालमा भएको यो भयावह घटनाबाट प्रभावित सबैप्रति हाम्रो गहिरो समवेदना छ। कम्तीमा ३५ अस्ट्रेलियाली उक्त क्षेत्रमा भ्रमणमा रहेको जानकारी प्राप्त भएको छ। उनीहरूको अवस्थाबारे यकिन गर्न विदेश मामिला तथा व्यापार विभागका कर्मचारी चौबीसै घण्टा काम गरिरहेका छन्। अस्ट्रेलियामा रहेका नेपाली तथा तिब्बती समुदायप्रति पनि हामी सहानुभूति व्यक्त गर्छौँ।
फर्गुसन: ती अस्ट्रेलियालीहरू बाढी आउँदा कहाँ थिए भन्ने खुलेको छ?
थिसलथ्वेट: उनीहरू रसुवा क्षेत्रमा रहेको जानकारी छ, तर ठ्याक्कै कहाँ थिए भन्ने यकिन भएको छैन। अहिले नेपालमा पदयात्राको मौसम हो। यो क्षेत्र साहसिक पर्यटनका साथै हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल पनि हो। उनीहरूको अवस्था पत्ता लगाउन हामीले सम्भव भएसम्म तीव्र रूपमा काम गरिरहेका छौँ।
फर्गुसन: भ्रमण समूहमा आबद्ध नभएका अन्य अस्ट्रेलियाली पनि सम्पर्कविहीन हुन सक्छन्?
थिसलथ्वेट: त्यो सम्भावना छ। सडक र सञ्चार सञ्जाल अवरुद्ध भएकाले वास्तविक विवरण प्राप्त गर्न कठिन भइरहेको छ। काठमाडौँस्थित अस्ट्रेलियाली नियोगबाट कर्मचारीहरूले काम गरिरहेका छन्। एक जना सङ्कट प्रतिकार विशेषज्ञ काठमाडौँमा छन् भने अर्का विशेषज्ञ प्रभावित क्षेत्रतर्फ जाँदै छन्।
फर्गुसन: भ्रमण सञ्चालकहरूसँग सम्पर्क भएको छ?
थिसलथ्वेट: सम्पर्क गर्ने प्रयास भइरहेको छ। दूरसञ्चार र सडक सञ्जालमा क्षति पुगेकाले कठिनाइ भएको छ। उपलब्ध विवरणका आधारमा भ्रमण सञ्चालक र यात्रुहरूसँग यथाशीघ्र सम्पर्क गर्ने प्रयास जारी छ।
फर्गुसन: सम्भावित मानवीय क्षतिबारे भरपर्दो आकलन प्राप्त भएको छ?
थिसलथ्वेट: अहिले नै अनुमान गर्न कठिन छ। हामी नेपाल सरकारबाट प्राप्त सूचनामा निर्भर छौँ। आगामी २४ घण्टामा थप विवरण आउने अपेक्षा छ। अस्ट्रेलियाले नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घ, रेडक्रसजस्ता विश्वसनीय मानवीय साझेदारसँग सहकार्य गर्नेछ।
फर्गुसन: नेपाललाई कस्तो सहयोग उपलब्ध गराउने योजना छ?
थिसलथ्वेट: अहिले हाम्रो पहिलो प्राथमिकता प्रभावित क्षेत्रमा रहेका अस्ट्रेलियालीहरूको अवस्था यकिन गर्नु हो। नेपाल सरकारको आवश्यकता र अनुरोध बुझ्न हाम्रा कूटनीतिक कर्मचारीले सम्बन्धित निकायसँग समन्वय गरिरहेका छन्। परामर्शपछि अस्ट्रेलियाले उपलब्ध गराउने सहयोगबारे शुक्रबार बिहान घोषणा गरिनेछ।
फर्गुसन: अस्ट्रेलियाली रक्षा बललाई नेपाल पठाउने तयारी भइरहेको छ?
थिसलथ्वेट: आवश्यक टोली तयार गर्न लाग्ने समयबारे रक्षा बलसँग छलफल भइरहेको छ। विमान वा हेलिकोप्टर प्रभावित क्षेत्रमा पुग्न सक्ने अवस्था छ कि छैन भन्ने बुझ्नुपर्छ। नेपाल सरकार र विपद् व्यवस्थापन निकायसँग समन्वय गरेर आवश्यकताअनुसार सहयोग गर्न हामी तयार छौँ।
मानवीय शरणार्थी प्रवेश सङ्ख्या २० हजारमै कायम
अध्यागमनसम्बन्धी प्रश्नमा सहायकमन्त्री थिसलथ्वेटले अस्ट्रेलियाले खुद वैदेशिक आप्रवासन करिब ४५ प्रतिशतले घटाएको बताए। सरकारले वार्षिक मानवीय शरणार्थी प्रवेश सङ्ख्या २० हजारमै कायम राख्ने पनि उनले पुष्टि गरे।
नेपालको प्रभावित क्षेत्रमा रहेका आफन्त वा चिनजानका व्यक्तिसँग सम्पर्क हुन नसकेमा अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागको आपत्कालीन सहायता नम्बर १३०० ५५५ १३५ मा सम्पर्क गर्न वा ‘स्मार्ट ट्राभलर’ सेवामार्फत जानकारी गराउन आग्रह गरिएको छ।