विदेशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँचको वातावरण बनाउँछुः परराष्ट्रमन्त्री डा. पौडेल

विदेशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँचको वातावरण बनाउँछुः परराष्ट्रमन्त्री डा. पौडेल
नेपालआईज
३ माघ २०७९ १८:२६


नेपाल । नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँचका लागि वातावरण बनाउने प्रतिबद्धता जनाएकी छन् ।

मंगलबार पदभार ग्रहण गर्दै उनले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवालाई प्रभावकारी तुल्याउने, विदेशी कूटनीतिक नियोगहरूसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदूतावासमा नेपालीको सहज पहुँच बनाउने भन्दै तीन कामलाई प्राथमिकता दिने बताएकी हुन् । पौडेलले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्नेसमेत बताइन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी थिइन् । राजनीतिसँगै सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न संघसंस्थामा समेत काम गरिसकेको अनुभव संगालेकी पौडेल पहिलोपटक मन्त्री बनेकी हुन् ।

तत्कालीन नेकपाको अर्थ तथा योजना समिति सदस्यका रूपका काम गरिसकेकी पौडेलको संसदीय यात्रा २०७४ सालबाट सुरु भएको हो । उनले १६ महिना राष्ट्रिय योजना आयोगको सदस्य र राष्ट्रपति कार्यालयमा विकास मामिला सल्लाहकारका रूपमा पनि काम गरिसकेकी छन् ।

पौडेलले एक्सन एड, डीएफआईडी, स्विस विकास सहयोग नियोगलगायतमा समेत काम गरेकी छन् । उनले ऐश्वर्य विद्या पदक तथा नेपाल विद्याभूषण पनि प्राप्त गरिसकेकी छन् । उनी दिगो विकास तथा सुशासन समितिमा सदस्य छिन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य पौडेल परराष्ट्रमन्त्री बनेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

सम्बन्धित खवर