पर्थका पूर्व चाइल्डकेयर कर्मचारी प्रतिक भट्टराईलाई तीन वर्षीया बालिकालाई अश्लील रूपमा छोएको अभियोगमा १५ महिना जेल सजाय सुनाइएको छ।पहिलो पटक प्रकाशित समाचार यहाँ हेर्नुहोस।
जिल्ला अदालतका न्यायाधीश एलन सेफ्टनले भट्टराईलाई एक आरोपमा दोषी ठहर गर्दै उक्त सजाय सुनाएका हुन्।
२२ वर्षीय भट्टराईले चाइल्डकेयर सेन्टरको घाँसेमैदानमा अन्य बालबालिका र कर्मचारीको उपस्थितिमा बालिकालाई यौन दुर्व्यवहार गरेका थिए।
पीडित बालिकाकी आमाले अदालतमा प्रस्तुत गरेको बयान अनुसार बालिकाले आमालाई घटनाबारे बताएकी थिइन्। घटनापछि उनले शारीरिक असहजताको कारण शौचालय जान डराउने गरेको पनि बयानमा उल्लेख थियो।
सुनुवाइका क्रममा भट्टराईले सुरुवातमा आफ्नो बचाउ गरेका थिए। तर, बालिका र उनको परिवारलाई प्रतिप्रश्नका क्रममा मानसिक आघात पुगेको अदालतले जनाएको छ।
न्यायाधीश सेफ्टनले भट्टराईको अपराध “निर्लज्ज र दुस्साहसी” रहेको भन्दै उनको कामको जिम्मेवारी र परिवारको विश्वासको गम्भीर उल्लंघन भएको बताए।
नेपाल फिर्ता पठाइने
भट्टराई अष्ट्रेलिया विद्यार्थी भिसामा आएका थिए र चाइल्डकेयरसम्बन्धी अध्ययन गरेका थिए। उनले जेल सजाय पूरा गरेपछि देश निकाला गरिने अपेक्षा गरिएको छ।
न्यायाधीशले भट्टराईमाथि आजीवन हिंसा प्रतिबन्ध आदेश (Violence Restraining Order) जारी गरेका छन्, जसअनुसार उनले पीडितसँग कुनै पनि सम्पर्क राख्न नपाउनेछन्।
पहिलो पटक प्रकाशित समाचार यहाँ हेर्नुहोस।