Nepali art and culture in Australia through the media, our first priority will be to include all the news and information in Nepali language that the Nepali / Australian community needs.
सिड्नीमा आफ्नै भाषामा मनका कुरा गर्न पाइने, बेला भिस्टा साइक्याट्री क्लिनिक सुरु
नेपालआईज
११ जेठ २०८२ १२:११
सिड्नी– नेपाली मूलका वरिष्ठ मनोचिकित्सक डा. घनश्याम चापागाईंको नेतृत्वमा सिड्नी मा Bella Vista Psychiatry & Well-being Clinic सञ्चालनमा आएको छ। नेपाली समुदायको लागि आफ्नै भाषामा सहज, सुरक्षित र गोपनीय वातावरणमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको क्लिनिकले हाल बालिग र किशोर उमेर समूहलाई लक्षित गर्दै सेवा दिने छ ।
२० वर्षभन्दा बढीको अनुभवसहितको नेतृत्व Royal Australian and New Zealand College of Psychiatrists का फेलोसमेत रहेका डा. चापागाईंले अष्ट्रेलियाका विभिन्न क्षेत्रीय तथा शहरी अस्पतालहरूमा दुई दशकभन्दा बढी समय सेवा दिइसकेका छन्। उनले Kellyville Private Hospital का मेडिकल डाइरेक्टर, Nepean Blue Mountain Local Health District र Tablelands Mental Health Services का क्लिनिकल डाइरेक्टरका रूपमा समेत काम गरिसकेका छन्।
साथै उनको टीममा अर्का नेपाली मुलका मनोचिकित्सक डा. विकास श्रेष्ठ पनि छन् । १२ वर्षभन्दा बढी समयदेखि मनोचिकित्साको क्षेत्रमा सक्रिय डा. श्रेष्ठले अष्ट्रेलियाका विभिन्न शहरी तथा क्षेत्रीय अस्पतालहरूमा काम गर्दै आएका छन्। डा. श्रेष्ठ Royal College द्वारा मान्यता प्राप्त सुपरभाइजर हुन् र मनोचिकित्सा तालिमरत रजिष्ट्रारहरूलाई प्रशिक्षण दिन्छन्। साथै, उनी University of Sydney मा क्लिनिकल लेक्चररको भूमिकामा कार्यरत छन्। श्रेष्ठ संगै अन्य भाषी विशेषज्ञ तथा सोसल वर्कर पनि टिमा छन् ।
मानसिक रोगको चाँडो पहिचान र सटीक उपचारमा जोड डा. चापागाईंका अनुसार, क्लिनिकमा डिप्रेशन, बाइपोलार डिसअर्डर, स्किजोफ्रेनिया, एडीएचडी, PTSD, OCD, चिन्ता, ट्रमा, ईटिङ डिसअर्डर लगायतका समस्या लिएर आउने सेवाग्राहीका लागि औषधि र मनोपरामर्श दुवै माध्यमबाट उपचार उपलब्ध छ। “सामान्यदेखि मध्यम समस्या भएका केसमा परामर्श प्रभावकारी हुन्छ भने जटिल अवस्थाका लागि औषधि र परामर्श दुवै आवश्यक हुन्छ,” उनले भने।
नेपाली भाषामा सेवा, जीपी र NDIS सँग सहकार्य क्लिनिकले नेपाली समुदायका लागि भाषा र संस्कृतिमा आधारित सेवालाई प्राथमिकतामा राखेको छ। यसका लागि नेपाली जीपीहरूसँग सहकार्य गर्दै मानसिक समस्या भोगिरहेका व्यक्तिहरूसम्म पहुँच विस्तार गरिँदैछ। साथै, सिड्नीका विभिन्न जीपी क्लिनिकहरू, NDIS कार्यक्रम, निजी र सार्वजनिक अस्पताल तथा समुदायस्तरीय संस्थाहरूसँग क्लिनिकको सहकार्य रहेको छ।
“मानसिक रोगको समस्या अघिल्लो पुस्तामा जति लुकाइन्थ्यो, अहिलेको पुस्तामा सहयोग खोज्ने प्रवृत्ति बढेको छ,” डा. चापागाईं भन्छन्, “यस्तो अवस्थामा प्रारम्भिक इन्टरभेन्सनले आत्महत्याजस्ता गम्भीर परिणामबाट बचाउन सहयोग गर्छ।”
नवीनतम प्रविधिको तयारी क्लिनिकमा छिट्टै Transcranial Magnetic Stimulation (TMS) र Esketamine जस्ता नवीनतम उपचार प्रविधिहरू सुरु गरिने योजना बनाइएको छ, जसले दीर्घकालीन वा औषधिप्रतिको प्रतिरोध देखाउने मानसिक अवस्थामा नयाँ आशा जगाउने विश्वास व्यक्त गरिएको छ।
नेपाली समुदायका अगुवालाई अपिल “स्थानीय नेपाली अगुवाहरूले मानसिक स्वास्थ्यप्रति सकारात्मक सन्देश फैलाउन सकून् भन्ने हाम्रो अपेक्षा छ,” डा. चापागाईं भन्छन्, “हामीलाई स्रोत व्यक्ति वा सहयोगीको रूपमा उपयोग गरेमा नेपाली समुदायले ठूलो लाभ लिन सक्छ।”
प्रत्येक पाइलामा साथ “हाम्रो क्लिनिकमा अनुभवी मनोचिकित्सक, मनोवैज्ञानिक र मानसिक स्वास्थ्य विशेषज्ञहरूको टोलीले सेवाग्राहीको विशेष आवश्यकतालाई बुझ्दै उपचार योजना तयार पार्छ,” डा. चापागाईं भन्छन्, “तपाईंलाई चिन्ता, डिप्रेशन, ट्रमा वा सम्बन्धजन्य समस्यामा सहयोग चाहिएको छ भने, हामी तपाईंको मानसिक स्वास्थ्य यात्रामा हरेक पाइलामा साथ दिन तयार छौं।”