पर्थ – प्रवासको भूमिमा नेपाली समुदायको सेवामा समर्पित अनुहारहरूमध्ये एक हुन् दिपक बस्नेत। पछिल्ला १७ वर्षदेखि पश्चिम अष्ट्रेलियामा नेपाली हितमा क्रियाशीलता देखाउँदै आएका बस्नेतले अब अझ ठूलो कदम चाल्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य पदका लागि उम्मेदवारी दिएका छन्।
अष्ट्रेलियाको नेपाली समुदायमा बस्नेतले छुट्टै पहिचान बनाएका छन्। एनआरएनए पश्चिम अष्ट्रेलियाका पूर्व सचिव र राज्य संयोजक को भूमिका निभाइसकेका उनले पदका लागि नभई, उद्देश्यका लागि उम्मेदवारी दिएको स्पष्ट पार्छन्। “पदकै लागि हो भने म पहिले पनि विभिन्न जिम्मेवारीमा थिएँ,” उनी भन्छन्, “तर आइसीसीमा पुगेर विश्वभर फैलिएका नेपालीहरूको हकअधिकार र चासोका विषयमा आवाज बुलन्द गर्न चाहन्छु।”
सामुदायिक नेतृत्वको अभ्यास र उदाहरण
बस्नेत पश्चिम अष्ट्रेलियाको अग्रणी संस्था नेप्लिज एसोसिएसन अफ वेष्ट्रन अष्ट्रेलिया (नावा ) को कार्यसमितिमा रहेर काम गरिसकेका छन्। त्यस्तै, उनले स्थानीय क्लबहरू, खेलकुद, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूमा नेपाली समुदायलाई सक्रिय बनाउँदै ल्याउने काममा निरन्तर लागेका छन्।
उनी भन्छन्, “एनआरएनए एउटा ग्लोबल संस्था हो, जसले प्रवासमा नेपालीको पहिचान, सुरक्षा र समृद्धिका लागि काम गर्छ। म यही माध्यमबाट अझ व्यापक रूपमा समुदायको आवाज बनेर योगदान गर्न चाहन्छु।”
उम्मेदवारीलाई समुदायको आशा र उत्साहको रूपमा हेरिँदै
बस्नेतको उम्मेदवारीसँगै पश्चिम अष्ट्रेलियाका सिंगो नेपाली समुदायको साथ र समर्थन जुटिरहेको छ। नयाँ पुस्ताका लागि प्रेरणा र पुराना पुस्ताका लागि भरोसा बनेका बस्नेतलाई धेरैले कर्मशील, विनम्र र निस्वार्थ सेवामा विश्वास गर्ने व्यक्तिका रूपमा चिन्छन्।
उनले भने, “म तपाईंहरूको साथ र सुझावको अपेक्षा राख्दछु। मेरो उम्मेदवारी तपाईंहरूकै उम्मेदवारी हो, हाम्रै पहिचान र भविष्यको प्रतिनिधित्व गर्नका लागि।”