एडिलेड/ दक्षिण अष्ट्रेलियामा एक २३ वर्षीय ट्याक्सी चालक पक्राउ परेका छन्, जसले यात्रुलाई सडकमा घिसारेर घाइते पारेको आरोप छ।
दक्षिण अष्ट्रेलियाली प्रहरीले जनाएअनुसार घटना आइतबार, १० अगस्ट बिहान करिब १:२० बजे क्लेमजिग क्षेत्रमा भएको हो। एडिलेडबाट यात्रा गरेर आएको यात्रु भाडा तिर्न नगद लिन घरभित्र जाँदा चालकले उसको मोबाइल रोक्दै राखेको बताइएको छ।
यात्रु मोबाइल लिन फर्कँदा चालकले अचानक ट्याक्सी तीव्र गतिमा चलाएर करिब ६० मिटरसम्म यात्रुलाई घिसारिदिएका थिए। घटनामा यात्रु घाइते भई अस्पताल भर्ना भएको छ।
पारालोवी निवासी उक्त चालकलाई १८ अगस्टमा पक्राउ गरी चोरी, खतरनाक गाडी चलाएर क्षति पुर्याएको, दुर्घटनास्थल छाडेको र ठक्करबारे जानकारी नदिएको आरोप लगाइएको छ। चालकको ट्याक्सी जफत गरिएको छ र उनको चालक अनुमति पत्र तत्काल १२ महिनाका लागि खोसिएको प्रहरीले जनाएको छ।
पीडितको मोबाइल पछि फेला पारिएको छ। पक्राउ परेका चालकलाई जमानतमा रिहा गरिएको छ र उनी आगामी १० अक्टोबरमा एडिलेड मजिस्ट्रेट्स अदालतमा पेश हुनेछन्।