काठमाडौँ । अन्तरिम सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गते शोक दिवस मनाउने निर्णय समेत गरेको हो।
गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालका अनुसार मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ उपलब्ध गराइनेछ। सो रकममध्ये १० लाख राहतस्वरूप र ५ लाख अन्त्येष्टि तथा अन्य खर्चका लागि छुट्याइएको छ। राहत वितरण अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत हुने बताइएको छ।
बैठकले आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। यसैगरी घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने सैद्धान्तिक सहमति भएको मन्त्री अर्यालले जानकारी दिए।
प्रधानमन्त्री सुशीला कार्कीले आजै मन्त्रिपरिषद् विस्तार गरेसँगै पहिलोपटक बसेको बैठकले यो निर्णय गरेको हो।